निर्वाचनको मुखैमा भारत हिँडेकाहरू भन्छन्,‘भोट दिन घरै बस्ने हो भने परिवार कसले पालिदिन्छ ?

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू धमाधम गाउँ पस्दा गाउँका बेरोजगार युवायुवतीहरु भने कामको खोजीमा विदेशीका छन् ।

विशेष गरी लुम्बिनी र कर्णाली प्रदेशका सयौं युवाहरू यतिबेला कामको खोजीमा दैनिक भारत पसिरहेका छन् ।सरकारले रोजगारीको अवस्था सिर्जना गर्न नसक्दा युवाहरुका लागि भोट भन्दा भोक मेटाउने चिन्ता भएको हो ।

चुनावका बेला भनेजस्तै जितेका नेताहरूले गाउँमै रोजगारी दिएको भए यसरी चुनावको मुखमा विदेशीनु नपर्ने उनीहरु बताउँछन् । उनीहरू आफ्नो प्रतिनिधि छनोट गर्नुपर्ने मतदान छाडेर भारत हिँडेका हुन् ।

नेताहरुले चुनावका बेला रोजगारी दिने भनेको ती वेरोजगार युवाहरुले विर्सेका छैनन् । बेरोजगारी समस्याले राजनीतिप्रति वितृष्णा बढ्दै गएको छ ।

बेरोजगारीले पिल्सिएका युवाहरुलाई चुनावको लहरले खासै छोएको छैन । निर्वाचनको मुखैमा सयौं युवाहरु गाउँ छोड्नु उनीहरुको बाध्यता हो  । उनीहरूलाई भोटभन्दा पनि परिवार पाल्नकै चिन्ता छ ।

नेताहरूले गाउँघरको विकासका साथै रोजगारीका अवसर सिर्जना नगरेको उनीहरूको गुनासो छ । निर्वाचनको मुखमा कामको खोजी गर्दै भारत पस्नेहरुमा कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुम ,बर्दिया, बाँकेलगायतका युवाहरू छन् ।

उनीहरू भन्छन् , भोट दिनका लागि कुरेर घरमै बस्ने हो भने परिवार कसले पालिदिन्छ ?'नेताहरूले बेरोजगारीको समस्या बुझिदिएको भए सायद, भोट हाल्न छोडेर परदेश जाने रहर कसैको हुँदैन थियो होला  ।

कोरोना संक्रमण सुरु हुनुअघि घर आएका उनीहरू खर्च चलाउन समस्या हुन थालेपछि फेरि फर्कन लागेका हुन् ।दलहरूलाई युवा विदेश हिँडेकोमा कुनै चिन्ता र चासो छैन, बरु उनीहरु पार्टी प्रवेशलाई तीव्रता पनि दिएका छन् ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले रोजगारमूलक कार्यक्रमहरू ल्याउन नसक्दा मतदातालाई झनै निराश बनाएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुँदैछ ।