स्थानीय तह निर्वाचन : एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विवरण प्राप्त भएपछि निर्वाचन आयोगमा पठाइने उहाँले बताउनुभयो । “आयोगबाट नामावली स्वीकृत भएर आएपछि कर्मचारी खटनपटनको काम हुन्छ”, उहाँले भन्नुभयो । ती पालिकामा ३०० केन्द्र छन् । मतदानस्थल नथपिए पनि मतदान केन्द्र थप गर्नेबारेमा छलफल भइरहेको छ ।

एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा २३ दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यताप्राप्त छ र अन्य क्रियाशील १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । दल दर्ताका लागि दिइएको समयभित्र २३ दलले दर्ता गराएको निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।

“जिल्लामा क्रियाशील राजनीतिक दललाई निर्वाचनमा भाग लिनका लागि विवरणसहित आउन सूचना जारी गरेका थियौँ”, उहाँले भन्नुभयो, “राजनीतिक दलको विवरण आइसकेपछि कार्यालय थप काममा अगाडि बढेको छ ।” म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तीन हजार ४१८ को आवेदन परेको छ । ती मध्ये एक हजार २९२ म्यादी प्रहरी छनोट गरिनेछ । चालिस दिनका लागि काम गर्ने इच्छासहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित युवायुवतीको आकर्षण देखिएको हो । “म्यादी प्रहरीका लागि आवश्यक सङ्ख्याभन्दा धेरैको आवेदन परेको छ, त्यसो हुँदा छनोट विधिमार्फत म्यादी प्रहरी भर्ना गरिनेछ”, उहाँले भन्नुभयो । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ ।

खुकुलो भएका कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् । म्यादी प्रहरीमा भर्ना हुनका लागि कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चवापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।