वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

 

माधव नेपालले दिए मन्त्रीको नाम, प्रचण्ड तनावमा

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको सूची तय गरेको हो ।

नेकपा एसका अध्यक्ष माधव नेपालले सम्भावित नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । तर, माधव नेपालले फोन गरेर बारम्बार नाम संशोधन गर्ने गरेकाले केही समय कुर्ने मनःस्थितिमा देउवा पुगेका छन् । नेपालले व्यापारी एवं ठेकेदार पृष्ठभूमि र दल बदलु चरित्रकालाई प्राथमिकता दिएका छन् ।


साढे २ महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो, दलहरु अन्तिम कसरतमा, कुन दललाई कति मन्त्रालय ?

मन्त्री बन्न नसके पार्टी नै फुटाउने अवस्था आउँदा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि सरकारमा मन्त्री थपिने भएका छन् । साढे दुई महिनासम्म जम्मा ६ मन्त्रीको भरमा देश चलाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनयता भने मन्त्री चयनका लागि ताकेता गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मन्त्री चयनको बाटो खुलेको हो ।

 

कांग्रेसमा सभापतिको गाँठो न मिल्छन् न छाड्छन्, कुन टिम कसरी मिल्लान ?

नेपाली कांग्रेसको संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहले कार्यकर्तामा एकताको सन्देश दिन भन्दै भदौ १७ गते पत्रकार सम्मेलन गर्‍यो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षीहरूलाई दायाँबायाँ राखेर भनेका थिए, सभापतिको साझा उम्मेदवार चयन गर्छौं।

वडा अधिवेशन सुरु हुनुभन्दा एक दिन मात्र अघि पत्रकार सम्मेलन गरेर पौडेल समूहले कार्यकर्तालाई एकताको सन्देश दिने प्रयास गरेको थियो। कतिपय विश्लेषकहरूले पौडेल पक्षले आयोजना गरेको उक्त पत्रकार सम्मेलन रणनीतिक भएको बताउँछन्। संस्थापन इतर समूहमा एकताको सन्देश प्रवाह गर्दा कार्यकर्तामा उत्साह थपिने र महाधिवेशनमा आफ्नो समूह बलियो प्रस्तुत हुने रणनीति आकलन भएको उनीहरूको भनाइ छ।

 

ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउ

१३ असोज, ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका-२९ जुगेडी वतन भएका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका(३ वतन भएका ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहट चन्द्रपुर नगरपालिका-९ सिंदुरेघारी बस्ने ३२ वर्षीय शिव रोक्का रहेका छन् ।

 

यस्तो भद्रगोल कहिलेसम्म श्रीमान् ?

सर्वोच्च अदालतमा राफल प्रणाली लागू गर्ने विषयमा आज पूर्ण बैठक (फूल कोर्ट) बस्ने तय गरिएको र सर्वोच्च अदालत नियमावलीमा संसोधन भए तत्कालै न्यायाधीशलाई मुद्दा तोक्न राफल प्रणालीमा लैजाने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतमा मुद्दाको बांडफांडमा गोलमाल भएको, बेञ्च सेटिङ गर्ने गरिएको, विचौलियाले खेल्ने अवसर पाएको निष्कर्ष निकालेर अब चिट्टा प्रणालीबाट अदालत चल्ने तयारी भइरहेको छ ।

 

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १२ गते एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको कौडेना गाउँपालिका १ बस्ने २४ वर्षिय जितेन्द्र साहलाई शंका लागि जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाईजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछी उनलाई पक्राउ गरेको हो ।

 

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद

सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चुरा बरामद गरेको छ ।


चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु¥याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ ।

 

‘विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने रहेछ’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’चलाउने बताएका छन् । निर्वाचनपछि आफ्नो पार्टी एमाले सबैभन्दा ठूलो हुने उनको दावी छ ।

विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने रहेछ भन्दै एकल नेतृत्वले नै ठूलो पार्टी हाक्ने बताए । मंगलबार भएको छलफलमा सम्पादकहरुले नेकपा विभाजनलाई जोडेर दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं ‘भनेको त दुर्घटनामा पर्‍यो नि’ भन्ने प्रश्नमा ओलीले भने,–‘प्लेन चाहिँ दुईटै पाइलटले चलाउँछन्, त्यो राम्रै चलेको पनि देखिन्छ । तर, पार्टीमा चाहिँ त्यस्तो नहुने रहेछ ।

 

एमाले छाड्ने मुडमा प्रभु शाह,अब माओवादी कि नयाँ पार्टी ?

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएका थिए प्रभु साह। तर, उनको यो विरोध धेरै लामो समयसम्म टिकेन। तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहको बैठकबाट बाहिरिएर बालुवाटार हुँदै शीतल निवासमा पुगेर मन्त्रीको सपथ लिएसँगै उनको विरोधले बिट मार्‍यो र सिंहदरबारको ढोका खुल्यो।

 

काठमाडौँ उपत्यकामा करिब ५० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

उपत्यकामा करिब ५० प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको हो । काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ ।


पछिल्लो २४ घण्टमा थप १,१५७ जनामा कोरोना संक्रमण पुष्टि , १,११३ कोरोना संक्रमणमुक्त

नपालमा पछिल्लो २४ घण्टमा थप १,१५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मृत्यु भइसकेका व्यक्तिको नाममा १६ लाख भन्दा बढि रकम गोजीमा हालेपछि

फर्जी नामावली र बील भरपाई खडा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच गाविस सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

एक दशकदेखि मृत्यु भइसकेका व्यक्तिको नामबाट मासिक भत्ता लिँदै आएको प्रमाण फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको हो ।

 

अन्ततः सेयर बजारमा हरियाली

अन्ततः सेयर बजारमा हरियाली छाएको छ । लामो समयसम्म करेक्सनको बाटो समाएको बजारले विस्तारै गति लिने संकेतहरु देखिएका छन् ।

नेप्से परिसूचक ५०।५८ अंकले बढ्दै आज २६६५।९४ विन्दुमा पुग्यो ।यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

 

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह

दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् ।

उहाँहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गर्नुभएको हो ।

 

सवारी दुर्घटनामा २ जनाको मृत्यु

ईलाम नगरपालिका-१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ ।

पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चलाक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका(७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आपसमा सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

नियन्त्रित लागूऔषध सहित पक्राउ

भगवानपुर गाउँपालिका.३ गैरसाहस्थित सडकबाट नियन्त्रित लागूऔषध ४० ट्याब्लेट नाईट्राभेट, २ एम्पुल फेनारगत, २ एम्पुल नोफिन र २ एम्पुल डाईजेपाम सहित सोही गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ती किशोरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

आफैले बोकेको भरुवा बन्दुक पड्किएर घाइते

अर्घाखाँची सितगंगा नगरपालिका-९ धोखोला बस्ने २४ वर्षीय वीर बहादुर राना मगर आफैँले बोकेको भरुवा बन्दुक पड्किएर लाग्दा मंगलबार दिउँसो घाइते भएका छन् । भरुवा बन्दुक लिई जंगलतर्फ जाने क्रममा चिप्लिएर लड्दा बन्दुक पड्किएर लागी घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ ।

 

अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून

दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । “गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन”, उहाँले भन्नुभयो । यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उहाँको भनाइ छ ।

पौडेल पक्षमा सहमतिको खोजीः माझीको सल्लाह नबनोस्

मंगलबार साँझ कांग्रेस नेता रामचन्द्र पौडेलसहित केही नेता बाँसबारीस्थित रामशरण महतको घरमा जमघट भए । जमघटमा सशांक कोइराला र प्रकाशमान सिंह पनि थिए । अहिलेसम्म उनीहरु सबै एउटै खेमामा छन् । तर, ती सबै आगामी महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । पौडेल, कोइराला र सिंहले त मुखै फोरेर सभापतिको उम्मेदवार बन्ने भनिसकेका छन् ।