धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि कारवाही गर्ने प्रतिवेदन गायब !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा अनपेक्षित ढिलाइ गरिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित जाँचबुझ समितिले अध्यक्ष ढुंगाना पदीय मर्यादाविपरीत सेयर कारोबारमा संलग्न भएको र उनले पुँजी बजारको विकासविपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएको हो ।

समितिले यससम्बन्धी प्रतिवेदन मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको थियो । प्रतिवेदनमा अध्यक्ष ढुंगानाले ऐनको बर्खिलाप हुनेगरी सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको औँल्याइएको छ ।अब धितोपत्र ऐनको व्यवस्था अनुसार उनलाई कारवाही गर्ने जिम्मेवारी सरकारको हो । तर, अर्थमन्त्री शर्माले प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान ढिलाइ गरेका छन् । स्रोतका अनुसार ढुंगानालाई जोगाउन भित्रभित्रै चलखेल भइरहेको छ । यसअघि गत साउन १३ गते मन्त्री शर्माले चर्चामा आउने उद्देश्यले ऐन-कानुनले समेत नचिन्ने स्पष्टीकरण शैलीमा पत्र पठाएका थिए । सरकारले निकै ढिलो गरी छानविन समिति बनाएको थियो । यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदलाई राजीनामा दिन लगाएर उम्काइएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ (७) मा ‘अध्यक्षले बोर्डलाई हानी नोक्सानी पुऱ्याई बोर्डको हित वा पूँजी बजारको विकासविपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने’ व्यवस्था छ ।

यसै प्रावधानका आधारमा गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्नुका साथै छानविन गर्न जाँचबुझ समिति गठन गरेको थियो । ऐनकै दफा ११ मा धितोपत्र व्यवसायमा संलग्न व्यक्ति बोर्डको अध्यक्ष बस्न नमिल्ने र धितोपत्र लगानीकर्ताको हित विपरीत वा पूँजी बजारको विकासमा हानी नोक्सानी पुग्ने कार्य गरेमा सरकारले बर्खास्त गर्न सक्ने प्रावधान छ ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताएका थिए । बोर्ड अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा बुक बिल्डिङमार्फत साधारण सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको थियो । यसैगरी सेयर खरिद प्रकरण विवादमा तानिएका नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्षका रुपमा बोर्डका पदेन सञ्चालक बनेका चन्द्रप्रसाद ढकाल पनि बोर्डबाट बाहिरिएका छन् ।