लागुऔषधको ओसारपसारकर्ता भारतमा पक्राउ

नेपालमा बस्दा विगतमा लागुऔषध र ठगीको मुद्दा लागेर फरार भएका दुई भारतीय नागरिकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका बिक्की गुप्ता र अङ्कित गुप्तालाई केही दिनअघि भारतीय प्रहरीले उत्तर प्रदेशको पलिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । यी दुवै जनालाई तीन सय ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताइएको छ । विगतमा बिक्कीलाई लागुऔषध र अङ्कितलाई ठगी विरुद्धको मुद्दा दर्ता भएको थियो । 
   
     नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका यी दुई जनालाई नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले पक्राउ गरेपछि लागुऔषधको ओसारपसार नियन्त्रणमा ठूलो सफलता मिल्ने विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ बिक्की र अङ्कितको विरुद्ध नेपालमा मुद्दा दार्ता भएपछि भारतमा गएर बसेका थिए, कैलाली, कञ्चनपुर, र बर्दिया जिल्लासम्म लागुऔषधको कारोबारमा संलग्न यिनीहरु पक्राउ परेपछि अब ५० प्रतिशत लागुऔषधको समस्या समाधान हुने विश्वास छ ।” 

     यसअघि नेपाल सीमा नजिकको भारतको वनगाउँ बजारमा पनि भारतीय प्रहरीले छापा हानेर सात जनालाई पक्राउ गरेको जनाइएको छ । नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको भारतको उत्तर प्रदेशस्थित पलिया बजारमा हालै भएको सीमा समन्वय बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लागुऔषध रोकथामको मुद्दा सशक्त रुपमा उठाउनुभएको थियो । बैठकमा भारतीय पक्षले गरेको प्रतिबद्धताअनुसार नेपाल प्रहरीको अनुरोधमा बिक्की र अङ्कितलाई पक्राउ परेको जनाइएको छ ।  

    प्रहरीले लागु औषध भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर लागुऔषधको ओसारपसार कारोबार गर्नेको जालो तोड्ने प्रयास गर्दै आएको छ । पछिल्ला वर्षमा लागुऔषधका सेवनकर्ता र ओसारपसार बढ्दै जाँदा समाजमा यो समस्या डरलाग्दो रुपमा फैलिइरहेको देखिएको छ ।
 
    समाजमा हुने गरेका अधिकांश अपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ । बढी सङ्ख्यामा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ । अभिभावकले गर्नुपर्ने उचित संरक्षण एवं रेखदेख नपुग्दा कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागु औषधको कुलतमा फस्ने गरेको देखिएको छ । यसबाहेक घरपरिवारको बिग्रेको माहोल, सञ्चार प्रविधिको दुरुपयोग, गरिबी, बेरोजगारी जस्ता कारण पनि कतिपय कुलतमा फस्ने गरेको पाइन्छ । 
 
     लागुऔषधका सेवनकर्ता, कारोबारीलाई प्रहरीले धमाधम पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयको थुनावा कक्ष भरिन थालेको छ । विभिन्न अपराधमा दैनिक थुनामा बस्नेमध्ये आधा सङ्ख्याका लागुऔषधका थुनुवा हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन्द्र बोहराले थप्नुभयो, “नेपाल–भारत बीचको खुला सीमाको कारण यो समस्याको समाधानमा कठिनाइ भइरहेको छ ।” बोहराले थप्नुभयो, “विभिन्न अपराधको अनुसन्धानकै क्रममा थुनामा राखिनेको सङ्ख्या बढीमा दैनिक एक सय २५सम्म पुग्ने गरेको छ । 

    योमध्ये आधा सङ्ख्याका थुनुवा लागुऔषधसहित पक्राउ परेका हुन्छन् ।” जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा वर्षेनी लागुऔषध मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आव २०७७÷७८ मा ब्राउन सुगर, नाइट्राभेटर, चरेसलगायतका लागुऔषधसम्बन्धी दर्ता भएका ९१ मुद्दामा ८९ व्यक्ति थुनामा परेका थिए । आव २०७८÷७९ मा एक सय एक मुद्दा दर्ता भई तीन सय १५ जना पक्राउ परेका छन् । 

    यस्तै आव २०७९÷८० मा मुद्दाको सङ्ख्या बढेर तीन सय ४७ पुग्दा पाँच सय २२ व्यक्ति पक्राउ परेकोमा चालु वर्ष २०८०÷८१ को वैशाख १० गतेसम्म आइपुग्दा लागुऔषधका दुई ६९ मुद्दा दर्ता भई तीन सय ५३ व्यक्ति पक्राउ परिसकेका छन् । 

   दुव्र्यशनीको कुलतमा लागेकाले समूहगत रुपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी लागुऔषध सेवन गर्ने गरेको बताइन्छ । कुलतमा लागेकाको लत छुटाइ पुनःस्थापना गराउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पहलमा धनगढी उपमहानगरपालिका क्षेत्रको फुलवारीमा सुधार केन्द्र हालै सञ्चालनमा ल्याइएको छ । 

    कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमित रुपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ ।