स्वास्थ्य बिमा सुधारका लागि रास्वपाको मार्गचित्र स्वास्थ्यमन्त्री मेहतालाई हस्तान्तरण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले स्वास्थ्य बिमा सुधारका लागि तयार पारिएको मार्गचित्र मन्त्री मेहतालाई बुझाइन्।

मार्गचित्र बुझ्दै मन्त्री मेहताले सरकार स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी, दिगो र नागरिकमैत्री बनाउन पुनर्संरचनाको प्रक्रियामा अघि बढिरहेको बताइन्। रास्वपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेका विषयहरू स्वास्थ्य बिमा सुधारका लागि उपयोगी हुन सक्ने भन्दै उनले आवश्यक सुझावहरूलाई अध्ययन गरी कार्यान्वयन प्रक्रियामा समेटिने बताइन्।

डा. कार्कीले रास्वपाको गत निर्वाचन घोषणापत्रमा समेटिएका प्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचनाका लागि मार्गचित्र तयार गरिएको जानकारी दिइन्। स्वास्थ्य बिमाको वर्तमान अवस्था, देखिएका समस्या, स्रोत व्यवस्थापन, सेवा गुणस्तर तथा दीर्घकालीन दिगोपनाका विषयमा अध्ययन र सरोकारवालासँगको छलफलपछि मार्गचित्र तयार गरिएको उनले बताइन्।

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन केही महत्त्वपूर्ण विषय स्वास्थ्य बिमा ऐनमै संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्। स्वास्थ्य बिमालाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ छ।

आगामी आर्थिक वर्षको बजेटमा समेत स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने सरकारको प्रतिबद्धता उल्लेख गरिएकाले त्यसलाई कार्यान्वयनमा लैजान मार्गचित्रले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।