भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस सुरु भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको आरोपमा दायर मुद्दामाथि जिल्ला अदालतका न्यायाधीश तेज खड्काको इजलासमा दैनिक बहस भइरहेको हो।

जाहेरवालाको तर्फबाट बहस गर्दै अधिवक्ता स्वागत नेपालले केही हाइप्रोफाइल राजनीतिक व्यक्तिहरूको नाम जोड्दै उनीहरूलाई अदालतमा झिकाएर बयान लिनुपर्ने माग गरेपछि इजलासको वातावरण तनावपूर्ण बनेको बताइएको छ।

अधिवक्ता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेमकुमार राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कांग्रेस नेतृ आरजु राणा र मञ्जु खाँडलाई झिकाएर बयान लिनुपर्ने माग गरेका हुन्।

उनले उनीहरूको नाम जोडिएका लेनदेनसम्बन्धी अडियो, भिडियो र अन्य प्रमाणहरू मुद्दासँगै पेश भएको दाबी गर्दै बयान नलिईकन फैसला गर्न नहुने तर्क गरे।

नेपालको यस्तो मागपछि प्रतिवादी पक्षका वकिलहरू आक्रोशित बनेका थिए। अधिवक्ता धर्मलाल रेग्मीले असम्बन्धित व्यक्तिहरूको नाम जोडेर मानमर्दन गर्न खोजिएको भन्दै कडा आपत्ति जनाए। उनले अदालतले अनावश्यक रूपमा फैसला ढिलाइ गर्न नहुने धारणा राखे।

दुवै पक्षबीच सवाल–जवाफ बढेपछि इजलासको माहोल गर्माएको र ८ नम्बर इजलासमा सुरक्षा बढाइएको स्रोतले जनाएको छ।

जाहेरवालाकै तर्फबाट अधिवक्ता ध्रुवलाल श्रेष्ठले यो प्रकृतिको मुद्दामा अभियुक्तहरूको सम्पत्ति रोक्का हुनुपर्ने भए पनि त्यसो नगरिएको भन्दै इजलासमा प्रश्न उठाएका थिए। उनले यस्तो गम्भीर मुद्दामा सुरुमै सम्पत्ति रोक्का हुनुपर्ने तर्क गरे।

हाल सरकारी वकिलहरूले बहस गरिरहेका छन्। यदि जाहेरवालाको मागअनुसार अदालतले थप व्यक्तिहरूलाई झिकाउने आदेश नगरेमा मुद्दा छिट्टै फैसलातर्फ अघि बढ्ने सम्भावना रहेको बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाइल नामहरू फेरि बहसमा तानिएपछि यो मुद्दाले अदालतभित्र मात्र होइन, राजनीतिक वृत्तमा पनि नयाँ तरंग ल्याएको छ।