सुनको सिक्री लुटपाटको आरोपमा एक जना पक्राउ

काठमाडौँको बसुन्धारास्थित कल्कीनारायण मन्दिर दर्शन गर्न आएकी एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटेको आरोपमा एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, संखुवासभाको सभापोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखामा बस्दै आएका ४६ वर्षीय रामकुमार तामाङ पक्राउ परेका छन्। उनलाई जेठ ९ गते पक्राउ गरिएको हो। 

जेठ ९ गते महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरिएको थियो। त्यसअघि गत वैशाख २४ गते चावहिलको आकाशे पुलमा पनि एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो। 

दुवै घटनामा संलग्न रहेको आरोपमा रामकुमारलाई पक्राउ गरिएको हो। उनले बिक्री गरेको सुनको सिक्री पनि पनि बरामद गरिएको प्रवक्ता भट्टराईले बताए।