उत्तर दिइरहेका छन् बालेनले: भाषणले होइन, कामले

अहिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा उभिएर जवाफ दिनुपर्छ भन्दै सबैतिर हंगामा गरिएको छ । संसदमा नाराबाजीदेखि अवरोधसम्मका हर्कत गरिएको छ । यसैका नाममा बुद्धिजीवीहरुले लोकतन्त्रका उपदेश दिएर आफ्नो ऊर्जा खपत गरिरहेका छन् । मानौँ कि उनीहरुले भनेजसरी बालेन संसदमा माइक समातेर उभिन आएनन् भने लोकतन्त्र नै खरानी भइजानेछ । 

हो, बालेन देशका प्रधानमन्त्री हुन् । झापा-५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता हुन् । उनी संसदप्रति नै उत्तरदायी छन् । र, संसदप्रति उत्तरदायी हुनुको अर्थ जनताप्रति उत्तरदायी हुनु हो । 

तर मुख्य कुरा उनले उत्तर कसरी दिन्छन् र कहिले दिन्छन् भन्ने हो । उत्तर भनेको माइक समातेर भाषण गर्नु मात्र होइन । उत्तर भनेको काम हो, नतिजा हो । लोकतन्त्रको अभीष्ट पनि जनताको र देशको जीवनमा फरक पर्ने गरी नतिजा दिनु नै हो । राष्ट्रियता भनेको पनि यही हो । सुशासन पनि यही हो । 

भाषणबाजी र प्रश्नोत्तर धेरै भइसक्यो । शब्द र नाराको बहस पनि धेरै भइसक्यो । अब हामीलाई काम चाहिएको छ । नतिजा चाहिएको छ । काम नै जवाफ हो । नतिजा नै जवाफ हो । भाषण र शब्दको जवाफ त धेरै सुनिसकियो ।

के भाषण नै लोकतन्त्र हो र ? यसैबाट वाक्क भएर दुई तिहाइ जनताले बालेन्द्र शाहलाई छानेका हैनन् र ? शब्दका सुन्दर बान्की सजाउन सक्नेहरूले हिजो काम किन गरेनन् ? परिणाम किन दिएनन् ? उत्तर त्यतातिर पो खोज्ने हो कि ? 

नेपालको इतिहासमै सरकार बनेको दुई महिना नपुग्दै यति धेरै रफ्तारमा काम भएको पहिलोपटक हो । यसअघि कार्यकर्ता पोस्ने र व्यापारीको काम गर्नेबाहेक नेताहरूले के गरेका थिए र ? संसदमा उभिएर भद्र मिजासका साथ लालित्यपूर्ण शब्दको सङ्गीत सुनाएकाहरूको शासन देखिएकै हैन र ?

तर बालेन आएपछि—सार्वजनिक स्थलको अतिक्रमण हट्न थाल्यो । कर्मचारी समयमै कार्यालय पुग्न थाले र अन्तिमसम्मै कार्यालयमा भेटिन थालेका छन् । एमालेले मीनबहादुर गुरुङको जग्गा मात्र फर्काएन, तीन करोड ९० लाख रुपैयाँ नै राज्यकोषमा फर्कायो । प्रधानमन्त्रीको शयनकक्षमा भेटिने दीपक भट्ट र साहिल अग्रवालहरू कानुनको कठघरामा उभिए । खुलेआम चेकमा कमिसन माग्ने र मुलुको हित चिताएर काम गर्ने राष्ट्र सेवकलाई दिनुसम्म दुःख दिएका दीपक खड्काहरु कठघरामा उभिनुपर्‍यो । के यो बालेनले दिएको जवाफ होइन ? के यो जनताप्रतिको उत्तरदायित्व होइन ? यी जवाफलाई संसदले ‘सो मोटो’ मार्फत जानकारीमा लिए भएन र ?

काम छाडेर भाषण गर्नुपर्ने कस्तो परम्परा खोजिएको हो ? कामलाई र नतिजालाई जवाफ नमान्ने कस्तो संस्कृति हो ?  के देशको समुन्नति यसै गरी हुन्छ र ? जनताले सुख र समृद्धि भाषणबाटै पाउँछन् र ?

के बालेन पनि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डजस्तै हुनुपर्ने हो ? पुरानै नेताको अवतार र अनुहार बालेनमा खोज्ने हो भने यति ठूलो परिवर्तनको के काम ? सबैलाई थाहै छ, ओलीले धेरै बोलेर बिगारे । प्रचण्डको जिब्रो नै बैरी भएर निस्कियो । बालेन पनि कता बोल्लान् र उनको जिब्रो समाउन पाइएला भनेर बसेकाहरूलाई अहिले छटपटी भएको छ ।

उनीहरूको छटपटी अझै बढोस् बरु । बालेनले काम गर्नुपर्छ, काम । भाषण गर्नेहरू अरु छँदै छन् । जनताले काम र नतिजा मागेका छन् । र त्यो नै बालेनको सबैभन्दा ठूलो जवाफ हो । हामीले जवाफदेहिता खोज्ने तरिकामै परिवर्तन ल्याउनुपर्छ । सोच नै बदल्नुपर्छ । बालेनको सोचसँग अभ्यस्त हुन केही समय अवश्य लाग्ने नै छ । मलेसियामा मोहम्मद महाथिर, कोरियामा पार्क जुङ ही र सिंगापुरमा लि क्वान युले पनि युद्ध, द्वन्द्व, गरिबी र अस्थिरताको दुश्चक्रमा फसेको जनमनोविज्ञान अनि व्यवहार बदल्न साहस र धैर्यसहित ठूलै कदम उठाउनुपरेको थियो । सडकमा थुक्नेलाई डन्डा लगाउनुपरेको थियो । यहाँ पनि विपन्न सोचलाई बदल्दै सम्पन्न सभ्यतातर्फ उन्मुख हुन अझै केही समय लाग्नेछ । त्यसका लागि देशको नेताले भाषणमा होइन, काममा नै समय खर्च गर्नुपर्नेछ । नेता सप्रिए जनता पनि सप्रिनेछन् । जनता सप्रिए देश सप्रिनेछ ।