नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
जिल्लामा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन् । माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मीनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि सुरु भएको अभियान रघुगङ्गा र धवलागिरि गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिनुभयो ।
“यो अभियानमार्फत ३० वर्षभन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधि सेवन नगरेकाको मधुमेह, रक्तचाप र मिर्गाैलाको परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “नसर्ने रोगका बिरामीको पहिचान गरी समयमै उपचारको पहुँचमा पु¥याउन अभियान सञ्चालन भएको हो ।”
मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि यही महिनाभित्र स्वास्थ्यकर्मी परिचालन गरेर नसर्ने रोगका बिरामी पहिचान अभियान सञ्चालन गर्ने तयारीमा रहेका न्यौपानेले बताउनुभयो । प्रदेश अस्पताल बेनीमा भने मधुमेह, रक्तचाप, मिर्गाैला, मुटुको परीक्षणको सुविधा निःशुल्क उपलब्ध गराइएको छ ।
टोलटोलमा जाने स्वास्थ्यकर्मीहरूले ‘किट’को प्रयोग गरेर परीक्षण गर्ने र समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउनेछन् । विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्न सकेमा क्षति रोकिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।
अस्वस्थकर खानपान, ध्रुमपान, मद्यपान, शारीरिक व्यायामको कमीका कारण पछिल्लो समय उच्च रक्तचाप, मिर्गौला, मुटुलगायत नसर्ने रोगको सिर्जना हुने र मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो ।
रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले नसर्ने रोगको पहिचानका लागि माघ २१ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको अभियानको तयारीका लागि आइतबार स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो ।
आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नसर्ने रोग स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतीका रूपमा देखिएको बताउनुभयो । –
एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ
पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर :अध्ययन
बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘…
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझ…
लगानीको अभावमा मलेरियाविरूद्धको अभियान प्रभावित
प्रतिक्रिया