सलमानको घरमा गोली, विक्कीका भाइ पक्राउ

बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा मुम्बई अपराध शाखाले थप एक जनालाई पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्त विक्की गुप्ताका भाइ सोनु गुप्तालाई पनि मुम्बई प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उनीसँग सोधपुछ जारी छ। गोली हान्ने षड्यन्त्रमा सोनु गुप्ता पनि संलग्न रहेको मुम्बई प्रहरीको आशंका छ।  उक्त गोलीकाण्डमा मुम्बई प्रहरीले अर्को महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अभियुक्त सागर पाल गुन्डाहरूको जीवनशैलीबाट प्रभावित थिए। उनी आफ्नो सपना पूरा गर्न गिरोहमा सामेल भएको प्रहरीले जनाएको छ।

गिरोहसँग हात मिलाएर उनले अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने काम पाएका थिए। पक्राउ परेका व्यक्तिहरूलाई सलमान खानको घरमा गोली चलाए ठूलो रकम पाउने भनिएको थियो।