घूस लिने प्रहरी जवान र घूस दिने व्यक्ति दुवैलाई सजाय

६ वैशाख, काठमाडौं । विशेष अदालतले घूस लिने र दिने दुवै जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । नवलपरासी पश्चिमस्थित बर्दघाट इलाका प्रहरी कार्यालयका प्रहरी जवानले घूस लिएको पुष्टि भएपछि बिहीबार सजाय सुनाइएको हो । 

विशेषका अनुसार प्रहरी जवान सञ्जीव धवल र उनलाई घूस उपलब्ध गराउने अर्जुन प्रसाद शर्मालाई विशेषले दोषी ठहर गरेको हो । उनीहरु दुवैलाई जनही ४–४ महिना कैद सजाय र जनही ८७ हजार पाँच सय रुपैयाँ जरिवाना हुने भएको हो । उनीहरुबाट बिगो वापतको रकम असुलउपरसमेत हुने फैसलामा छ ।

यस मुद्दाका अर्का प्रतिवादी इन्द्रलाल श्रेष्ठले भने सफाइ पाएका छन् । विशेषका सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष १२ पुसमा मुद्दा दायर गरेको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख कपिल वाग्लेको मृत्युका विषयमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले धवल, शर्मा र श्रेष्ठमाथि कारवाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो । 

सोहि छानबिन प्रतिवेदनलाई समेत आधार मानी अनुसन्धान गरेर मुद्दा चलाइएकोमा आंशिक ठहरको फैसला भएको हो । अवैध मोबाइलसहितको गाडी लिएर आएका शर्माले सादा पोशाकका जवान धवललाई एक लाख ७५ हजार रुपैयाँ घूस दिएको भन्दै मुद्दा चलेको थियो । 

वाग्लेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको भोलिपल्टै मोटरसाइकलको ठक्करबाट उनको निधन भएको थियो । २५ साउन

२०७८ मा प्रहरी कार्यालयअगाडि नै दुर्घटनामा वाग्लेको निधन भएको थियो । यो विषय शंकास्पद रहेको भनी सदनमा आवाज उठेपछि गृहले छानबिन समिति गठन गरेको थियो । 

शर्माले नगद एक लाख २० हजार र बैंकिङ प्रणालीमार्फत् ५५ हजार रुपैयाँ दिइएको समितिको दाबी थियो । उक्त दाबी पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको हो । 

२१ साउन २०७८ मा अवैध मोबाइलसहितको गाडी छाडिदिन भनी उक्त रकम दिइएको अख्तियारको अनुसन्धानले देखाएको थियो । राष्ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभावमा पारेको भनी घूस दिने शर्मा र श्रेष्ठलाई मुद्दा चलाइए पनि श्रेष्ठले सफाइ पाएका हुन् ।