म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पु¥याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । 

    रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।
असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ । 

    रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो । 

    असिनाले गौ, जौ, तोरी लगायतका खाद्यवालीसँगै तरकारी खेतीमा ठूलो क्षति पु¥याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिनुभयो । ‘‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक अनिसा पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ’’, कृषक बानियाँले भन्नुभयो । 

    असिना पानीले हिउँदेबालीमा क्षति पु¥याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको जनाएका छन् ।  अनिसा पानीले पु¥याएको क्षतिको वडास्तरबाट विवरण सङ्कलन गर्न थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।