तेस्रो पटक विश्वासको मत लिदै मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिनु हुदै छ ।

मधेश सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको हो ।

सङ्घीय गठबन्धनको बैठक सम्पन्न भएसँगै मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गते विश्वासको मत लिने निर्णय गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आइतबार २ बजे प्रदेश सभाको बैठक समेत बोलाइएको छ ।

वि.स. २०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० औं दिनमा जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । 

मधेश प्रदेश सरकारमा १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली काँग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सीट रहेको छ । 

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र) को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल संघीय समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट र ३ स्वतन्त्र रहेको छ।

मधेश प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, लोसपा,  माओवादी केन्द्र र नेकपा (एस) रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।