विवादास्पद रोज राणा मन्त्री बने, अब पालो मनाङेको

संघीय नेपालमा अनेक रुप देखिन थालेको छ । कुनैबेलाका चर्चित डन, गुण्डा नाइकेहरु अहिले सांसद मात्र होइन मन्त्री बनिरहेका छन् । निकै विवादमा परेका प्रदेश सरकारमा यस्ता विवादास्पद पात्रको राजगज चल्दा आममानसमा झनै नैरस्यता छाएको छ ।

कुनै बेलाका सुराकी, फिल्म निर्मातादेखि नग्न डान्सबार सञ्चालकसमेत रहेका सरोज थापा अर्थात् रोज राणा अहिले लुम्बिनी प्रदेशका मन्त्री बनेका छन् । प्रदेशमा मन्त्रालय टुक्रयाएरै कांग्रेस सांसद राणालाई उद्योग तथा यातायात व्यवस्थामन्त्री बनाइएको हो ।  राणविरुद्ध मानव बेचबिखनको मुद्दासमेत चलेको थियो । पछि मानव बेचबिखनको अभियोगबाट सफाइ पाएका थिए ।

 फिल्म निर्माण र निर्देशनको काम समेत गरेका थापाको डान्सबारसमेत थियो । उनी सुराकी पनि थिए । ०७१ साउन २१ गते काठमाडौंको भीमढुंगा इन्काउन्टरमा एमालेनिकट गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिँदा राणाको भूमिका पनि थियो । चरीको सूचना प्रहरीसम्म पुर्‍याउन राणाको भूमिका रहेको भन्दै चरी समूहका अन्य सदस्यले मध्य बानेश्वरमा राणामाथि खुकुरी प्रहार गरेका थिए ।

त्यही आक्रमणपछि उनी राजनीतिमा होमिए । गत वर्षको निर्वाचनमा उनी प्युठानबाट प्रदेश सांसद बने । मुख्यमन्त्री एवं कांग्रेस नेता डिल्लीबहादुर चौधरीले उनलाई मन्त्री बनाए पनि संस्थापन इतर समूहको ब्यापक विरोध छ ।

मन्त्री बन्ने पहिलो प्राथमिकतामा रहेका पाल्पाका वीरबहादुर राना आफ्नो नाम काटेर राणालाई मन्त्री बनाइ्एको हो । लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले मुख्यमन्त्रीले पार्टीको प्रदेश समितिलाई बेवास्ता गरेर मनोमानी ढंगले मन्त्रिपरिषद् विस्तार गरिएको बताए ।

राणा त मन्त्री बने नै दीपक मनाङे पनि मन्त्री बन्ने सम्भावना छ । अघिल्लो कार्यकालमा स्वतन्त्रबाट गण्डकी प्रदेशमा मन्त्री बनेका उनी अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसद हुन् । केन्द्रदेखि प्रदेशसम्म सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गण्डकीमा सरकारमा छैन। यद्यपि, सरकारलाई समर्थन दिएको छ ।

अध्यक्ष नेपाल उनलाई मन्त्री बनाउन लबिङमा छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डे माधव नेपालको दबाब थेगिरहेका छन् । मन्त्री बन्नका लागि एकीकृत समाजवादीमा प्रवेश गरेका उनलाई मन्त्री बनाउन ८ महिनाअघि भएको सहमति कार्यान्वयन नभएको भनेर अध्यक्ष नेपाल असन्तुष्ट छन् ।

राजनीतिमा आउनुअघि उनी गुण्डा नाइके थिए ।  अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो । तर, उनले सफाइ पाए । ठमेलका रेस्टुरेन्ट व्यवसायीबाट कमिसन उठाउने मनाङे दुई दशक काठमाडौं उपत्यकामा गुण्डागर्दीमा सक्रिय थिए ।