कोशी प्रदेश:भागवण्डा मिल्यो,सरकार विस्तार कहिले?

कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । तिहार अगाडि नियुक्ति नभएपनि दलहरुका बीचमा राजनीतिक नियुक्तिका बिषयमा सहमति भएको हो ।

सत्ता गठबन्धन दलहरू काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको पटक पटक बसेको छलफलले उक्त सहमति गरेको हो । मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका अनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिनेछ ।

कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्।सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एकजना मन्त्री बन्नेछन्।

मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले काँग्रेस दलका नेता उद्धव थापा र जसपाकी सांसद निर्मला लिम्बूसँग पनि बिहीबार छलफल गरेका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तिहार र छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए । ‘सरकार विस्तार र जिम्मेवारी बाँडफाँडका विषयमा लगभग सहमति भएको छ’, उनले भने, ‘तिहारपछि निष्कर्षमा पुग्छौं ।’