सर्वोच्चबाट आफैले पाएको परमादेशको वज्र गठबन्धनमाथि बजारियो, कार्की मुख्यमन्त्री बन्ने निश्चित

सुन्नुहोस्

 काठमाडाैँ।कोसी प्रदेश सभाबाट पार्टीमा आफ्नो नियन्त्रण नै गुम्न थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तनावमा छन्। योभन्दा बढी तनाव थपिएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ।

किनभने यही एउटा घटनाले गठबन्धनलाई नै दुर्घटनामा पुर्‍याउँदै छ। यही कारण उनीहरु दुवैले शुक्रबार दिनभर दौडधूप गरे। तर केही सीप लागेन । अन्तिम प्रयासस्वरुप कोसीका प्रदेश प्रमुख परशुराम खापुङलाई आफ्नो रबरस्ट्याम्पसरह दुरुपयोग गर्दै रातभरि चलखेल गर्ने दाउस्वरुप प्रक्रिया लम्ब्याउन लगाए । मुख्यमन्त्री नियुक्तिको दिन एक दिन भए पनि पर धकेले । तर अब जति खेलकुद र कसरत गरे पनि प्रचण्ड र देउवाको हातबाट राजनीति फुस्किसकेको छ । 

कोसीमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका लागि अघि सारेका बेला कांग्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीले नेकपा एमालेसँग मिलेर सोही पदमा दाबी गरेपछि राजनीति नयाँ मोडमा पुगेको छ। यसले गठबन्धनमै फाटो ल्याउन सक्ने भय बढाएपछि उनले शुक्रबार दिनभर परिस्थिति आफ्नो पक्षमा पार्न प्रयास गरे।

सुरुमा उनले कार्कीको नाम फिर्ता गराउन खोजे। त्यसो नभए कार्कीबाहेकका अन्य कुनै सांसदलाई अघि सारेर माओवादीसँगको मेलजोल कायम राख्ने र कांग्रेसलाई फुटबाट जोगाउने उपाय उनले लगाएका थिए । तर, उनको प्रयास सफल भएन। शेखर कोइराला कार्कीलाई पछि हटाउन तयार भएनन्। बरु केन्द्रमै चुनौती दिन कोइराला दृढ देखिए। उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै गएनन्। कोसीकै विषयमा छलफल गर्न बसेको बैठकमा शेखर कोइराला नै नगएपछि कुनै निर्णयमा नपुगी स्थगित भयो।

शुक्रबार ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका प्रदेश प्रमुख परशुराम खापुङले कार्की र आङ्बोको पक्षमा हस्ताक्षर गरेका सांसदहरुलाई शनिबार दिउँसोसम्म उपस्थित भएर सनाखत गर्न समय दिएका छन्। रातभरिमा कुनै फेरबदल नभए कार्कीलाई मुख्यमन्त्री बन्नबाट देउवाले रोक्न सक्ने छैनन्। किनकि उनीसँग स्पष्ट बहुमत छ। कार्कीको पक्षमा खुलेका ४७ सांसद शुक्रबार पनि प्रदेश प्रमुखकहाँ पुगेका थिए। यति मात्र होइन, कार्कीको पक्षमा कांग्रेसका अरू सांसदहरू पनि खुल्दै गएका छन् ।

गठबन्धनले निर्णय गरेपछि बिहीबार अपरान्ह आङ्बोले ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । त्यसको एक घण्टापछि एमालेका ३९ सांसदले कार्कीलाई समर्थन दिए। शेखर पक्षका ८ सांसद पनि कार्कीकै पक्षमा खुले। ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख खापुङकहाँ पुगे र मुख्यमन्त्रीका लागि दाबी गरे।

बिहीबार साँझ एकाएक बदलिएको कोसी राजनीतिले गठबन्धन दलका नेतालाई थेगिनसक्नु तनाव दिएको छ। राजनीतिक रूपमा गठबन्धन दुर्घटनामा परिसकेको छ। देउवा र दाहाल नैतिक संकटमा पनि फसिसकेका छन् ।

शुक्रबार बिहानैदेखि कांग्रेस सभापति देउवाले आफूनिकट नेतासँग संवाद गरे। महामन्त्री विश्वप्रकाश शर्मासहितका नेतासँग कोशी प्रदेशमा उत्पन्न समस्या समाधानको उपाय खोज्न सल्लाह लिए। अनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न शेखरसहित बालुवाटार पुगे। 

कार्कीबाहेक शेखर पक्षका जो नेतालाई अघि सारे पनि मुख्यमन्त्रीमा सहमति गर्ने प्रस्ताव गरे। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एकजुट हुन सुझाव दिए।

यदि माओवादी केन्द्रकै मुख्यमन्त्री दाबी गरिएकोले कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना भएको हो भने अर्को मान्छे अघि सारेर भए पनि साझा नाम अघि बढाउन प्रचण्डको प्रस्ताव थियो । प्रचण्डको प्रस्तावमा सहमति जनाउँदै सभापति देउवाले कार्कीबाहेक अर्को नाम अघि सार्न कोइराला पक्षसँग प्रस्ताव राखे ।

यसले कोइराला पक्ष देउवा खेमासँग झन् चिढिएको छ । कोइरालाले पनि प्रधानमन्त्री दाहाल र सभापति देउवा दुवैको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए। शेखरको यस अडानले गठबन्धन जोगाउने कुनै जादु बाँकी छैन । गठबन्धनलाई निरन्तरता दिने कुरामा दाहाल र देउवा निरूपाय भइसकेका छन् । पार्टी विभाजन हुन नदिने र गठबन्धन पनि जोगाउने उपाय निकाल्ने भनेर चाहिँ देउवाले भन्न छाडेका छैनन् ।