एमाले वकिलहरु एकजुट

बुधबार एमाले निकट प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनले काठमाण्डौंमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

लगभग दुईहज्जारभन्दा माथि कानुन व्यवसायीहरुको उपस्थिति रहेको कार्की ब्यांकेटमा एमाले समर्थित वकिलहरुको चुनावी सभापश्चात् प्रगतिशिल कानुन व्यवसायीको नेपाल बार एशोसिएशनको निर्वाचनमा बलियो पकड रहेको तथ्य स्थापित भएको छ ।

भेला पछि निर्वाचनमा आफूहरु विजयी हुने प्रगतिशिल समूहको दावी रहेको छ । भेलामा पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ्गदेखि पूर्व महान्यायाधीवक्त रमेश वडाल लगायतका व्यक्तिहरु उपस्थित थिए ।

कांग्रेस र गठबन्धन निक प्रजातान्त्रिक समूहले आज पुतलिसडकस्थित बंगीखाना नजिक रहेको पार्टी प्लालेसमा भव्य भेलाको आयोजना गर्दैछ । सो समूहले पनि एमाले वकिलहरुको उपस्थितिको काउन्टर दिने र निर्वाचनको अन्तिम तयारी गर्ने बताएको छ ।

आगामी शनिवार हुन गइरहेको नेपाल बार एशोसिएशन केन्द्रिय कार्यसमितिको चुनावको पूर्व तयारी स्वरुप आज सबै वकिल संगठनहरुले एक पछि अर्काे गर्दै शक्ति प्रदर्शन गरिरहेका छन् ।
चुनावी मोर्चामा होमिएका नेपाली कांग्रेस, नेकपा समाजवादी र नेकपा (माओवादी)का कानुन व्यवसायीहरुको वृहत्त प्रजातान्त्रिक तथा प्रगतिशिल तथा समावेशी समूह र एमालेको प्रगतिशिल तथा पेशागत समूहले चुनावको अन्तिम तयारी गरिरहेका छन् ।

वृहत्त प्रजातान्त्रिक तथा प्रगतिशिल तथा समावेशी समूहले बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा समावेशी समूहलाई अघि सारेको छ भने प्रगतिशिल तथा पेशागत समूहले बरिष्ठ अधिवक्ता विष्णुमणी अधिकारीको नेतृत्वमा टीम अघि सारेको छ ।

यसबाहेकका सानासाना समूहहरु पनि चुनावी मैदानमा भएतापनि उनीहरुले खासै मत प्राप्त गर्ने र नेतृत्वमा पुगिहाल्ने संभावना छैन । देशैभरीका ९८८७ कानुन व्यवसायीले शनिवार केन्द्रिय नेतृतवका लागि मतदान गर्नेछन् । तीन बर्ष अघि भएको निर्वाचनमा भन्दा यसपाली २,५०० मतदाता घटेको निर्वाचन आयोगले जनाएको छ । खासगरी अर्कैपेशा गरिरहेका तथा कोभिड लगायतको विभिन्न कारणले नविकरण नगरेका कानुन व्यवसायीहरुले यसपटक मतदान गर्न पाउने छैनन । यसपाली मतदाता संख्या घटेकाले पनि चुनावी रणनीति र यसको निष्कर्ष चामत्कारिक हुने कानुन व्यवसायीहरु बताउंछन् ।

व्यापक आमचासोकाबीच आगामी नेतृत्वमा कुन समूह आउला भन्ने सबैमा कौतुहल छाएको छ ।