सूचना टाँसेर प्रदेशसभा स्थगित गर्न मुख्यमन्त्रीको दबाब

विराटनगर मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गर्न दबाब दिएको छन् ।

मुख्यमन्त्री शेरधन राई र प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको आइतबार बिहान भएको भेटवार्तामा प्रदेशसभाको बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गर्न दबाब दिएको जानकारी दिएका छन् । सभामुख भण्डारीले भने प्रक्रियाअनुसार अविश्वास प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची तय भइसकेको भन्दै सधैँभरि बैठक रोकेर राख्न नसकिने जवाफ दिएको बताइएको छ।

माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बैठक बसेको थियो । पुस १२ गते प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईकाविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेपछि प्रदेशसभाका सदस्यहरु विभाजित अवस्थामा छन् । आजको प्रदेशसभा बैठकमा नेकपाको ओली पक्षका सांसदहरुले बैठक अवरुद्ध गर्ने सम्भावना छ भने ओली समूहबाहेकका सांसदहरु जसरी हुन्छ अविश्वासको प्रस्ताव बैठकमा टेबल गर्नुपर्ने पक्षमा रहेका छन् ।