प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव पेस भएसँगै बुटवलमा आन्दोलन सुरु

बुटवल- प्रदेशसभामा प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव पेस भएपछि बुटवलमा आन्दोलन सुरु भएको छ ।

कांग्रेसका कार्यकर्ताले प्रदेश सरकारको शुक्रबारको बैठकबाट उक्त प्रस्ताव संसदमा पेस भएलगत्तै सडकमा उत्रिएर विरोध जनाएका हुन् ।

राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन सुरु गरेको नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले बताएका छन् ।

कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको पार्टी सभापती अब्दुल रज्जाकद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेविसंघले प्रस्ताव पेस हुनासाथ तीन वटा गाडीमा तोडफोड गरेको छ । सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु१झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेको छ ।

त्यस्तै लु.१.झ ४४९ नं गाडी पनि तोडफोड गरेका छन् । साथै विभिन्न ठाउँमा टायर बालेर प्रदर्शनसमेत भइरहेका छन् ।

देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै अब पनि नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने षडयन्त्र भएको विरोधमा सडक र सदन तताउने विज्ञप्तिमा उल्लेख ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङको देउखुरीमा राजधानी राख्ने निर्णय भएपछि प्रदेश सरकारले प्रस्ताव अघि बढाएको हो।