नेपाल–भारत सीमानाका खोल्न जनता समाजवादी पार्टीकाे माग

बाँके-झण्डै ६ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका खोल्न जनता समाजवादी पार्टी (जसपा) बाँकेले  सरकारसँग माग गरेको छ ।

बाँकेले लकडाउन र सीमानाका बन्द गर्दासमेत कोरोनाको संक्रमण रोक्न नसकिएकोले नेपाल–भारत सीमा नाका तत्काल खोल्न जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा माग गरेको हाे ।

नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले ११ चैत २०७६ देखि लकडाउनका साथै नेपाल भारत अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि कोरोनाको संक्रमण समुदाय स्तरसम्म पुगिसकेकोले सीमानाका बन्द गर्नुको औचित्य सकिएको जसपाले जिकिर गरेको छ ।

‘कोरोना हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । कोरोना भाइरसबाट सुरक्षा सतर्कताबाहेक बच्ने अर्को विकल्प छैन,’ जसपा, बाँकेका अध्यक्ष गिरिजाप्रसाद पाठकले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘लकडाउन अन्त्य भई बजार, होटल, सार्वजनिक यातायातसमेत सुरक्षा सतर्कता अपनाएर सञ्चालनमा आइसकेको अवस्थामा नेपाल–भारत सीमानाका खुला नहुनु दुर्भाग्य मान्नुपर्दछ।’ सीमा नाका बन्द भएपछि नेपाल–भारतबीच रहेको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध धरापमा परेको जिकिर जसपाले गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सीमा सिल गरिएको भनिए पनि हाल त्यसको औचित्य सकिसकेको छ,’ प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाली जनताको जीवन रक्षाका लागि समेत नेपाल–भारत सीमानाका सुचारु गर्न आवश्यक भएको धारणा जसपाले अघि सारेको छ ।

जीवन रक्षाको लागि स्वदेश भित्रिएका नेपाली नागरिकहरु खान नपाएर भोकभोकै मर्न लागेको औंल्याइएको छ । कामका लागि भारत जानसमेत नपाउँदा नेपाली नागरिक एक छाकका लागि तड्पिनुपर्ने अवस्था सिर्जना भएको दाबी पनि गरिएको छ ।

नेपाल–भारत सीमासँग जोडिएका नेपाली र भारतीय नागरिकहरु (नातेदार) मर्दापर्दा समेत पुग्न नसकेको, एकापसमा सहयोग आदान प्रदान गर्न नसकेको, एकापसमा बिहावारीलगायत सामाजिक सांस्कृतिक रीति रिवाज, चाडपर्वमा समेत आवत जावत ठप्प रहेको, बिरामीहरुले उपचारका लागि समयमै जान आउन नपाएको कारणले अकालमै ज्यान गुमाउनुपरेको कारणले झन् संकट थपिएको पाठकद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

‘सीमा बन्द भएका कारण स्थानीयस्तरमा हुने ब्यापार व्यवसाय समेत ठप्प भएका छन्। होटल खुले पनि भारतीय पर्यटक र उपभोक्ताहरु नेपालभित्र प्रवेश गर्न नपाउँदा होटल व्यवसायसमेत धरापमा पर्ने प्रस्ट छ,’ ज्ञापन पत्रमा भनिएको छ।