भत्काइएको छाउगोठले हट्न नसकेको छाउ प्रथाभित्रको ‘कथा’

काठमाडों ।सुदूरपश्चिममा जरा गाडेर बसेको छाउ प्रथा उन्मूलन गर्ने भनेर धमाधम भत्काइएको छाउगोठ फेरि ठडिन थालेका छन् ।

प्रहरी प्रशासन लगाएर छाउगोठ भत्काउन त सजिलो भयो तर धर्म संस्कृतिको निरन्तरताले नजानिदो रुपमा समाजलाई गाँजिरहेको छ ।

परम्परागत सोचमा परिवर्तन आउन नसक्दा छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ। परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई घरपरिवार र महिलाले नै छाड्न सकेका छैनन्।

समाजमा छाउपडी प्रथा ठूलो समस्याका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि सहकार्यको आवश्यकता रहेको छ ।

महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् , पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन्।

परम्परा र धर्मको दरियो पकड भएको क्षेत्रमा एक्कासी छाउगोठ भत्काउनु अघि विकल्पको बारेमा पनि सोच्नु पर्दथ्यो । तर त्यसो नगरिदाँ छाउप्रथा उन्मूलनको साटो त्यस क्षेत्रका महिलाले झन कष्ट भोग्नु परिरहहेको छ ।

छाउगोठ आफैमा असुरक्षित हुन्छ । जङ्गली जनावर र सर्पदंशबाट ज्यान जाने घटना त छदैछ । बलात्कृत हुने जोखिम बढी हुने गरेको छ ।

एक्कासी छाउगोठ भत्काउनु एकदमै कच्चा काम थियो । पहिला त्यहाँका जनताको छाउँको वास्तविकताको बारेमा चेतना फैलाउनु जरुरी थियो ।

देवी देवताका कारण त्यस क्षेत्रका महिलाहरु महिनावारी हुँदा अझै ओडार र खुल्ला आकाशमा रात बिताउन बाध्य छन् । सरकारले भत्काएर खण्डहर बनाएको छाउगोठमा प्लाष्टिक बेरेर हुन्छ या कसरी हुन्छ बस्ने गरेका छन् ।

त्यस भेगमा महिलाहरुमा छाउ नमाने देवता लाग्छ भन्ने मान्यताले जरो गाडेर बसेको छ । यिनै देवीदेवताका कारण महिलाहरु महिनावारीको बेलामा घरभित्र बस्न डर मान्छन् ।

महिनावारी सामान्य प्रक्रिया हो,र महिनावारीको बेला घरैमा बस्दा पनि देवता रिसाउँदैनन् भन्ने ज्ञान फैलाउन र जनचेतनासँगै छाउगोठ भत्काउने कार्यलाई स्थानीय तहले सँगसँगै लैजानुपर्छ।

छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ को उद्देश्यमै छाउपडी कुप्रथा उन्मुलन गरी समतामूलक समाज निर्माण स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ।