माओवादीले आफ्नो गढ ठान्ने कर्णाली प्रदेशमै खुम्चियो तेस्रोमा

काठमाडाैँ। माओवादी केन्द्रले सात प्रदेशमध्ये कर्णालीलाई आफ्नो गढ ठान्छ । १० वर्षे युद्धको केन्द्रविन्दु कर्णाली हो, त्यसमा पनि रोल्पा । र, माओवादीका धेरैजसो नेताहरू पनि कर्णाली प्रदेशका छन् ।

तर, प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो दलमा खुम्चिएको माओवादी समानुपातिकतर्फ तेस्रो हुन् राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धा गरिरेहका बेला कर्णालीमा रोचक दृष्य देखिएको छ ।

कतिसम्म भने समानुपातिकमा माओवादी कर्णाली प्रदेशमा तेस्रोमा खुम्चिएको छ ।हालसम्मको मतगणना अनुसार माओवादी केन्द्र १ लाख ३५ हजारसहित तेस्रोमा खुम्चिरहेका बेला नेपाली कांग्रेस १ लाख ८० हजार मतसहित दोस्रोमा छ । एकीकृत समाजवादीले २५ हजार मत मात्र पाएको छ।

बरु कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० हजार मत पाएको छ ।प्रत्यक्षमा निल भएको एमाले समानुपातिकमा पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षमा एमाले कर्णाली प्रदेशमा निल छ, यो दलले १२ मध्ये कुनै पनि सिट जित्न सकेन । माओवादी र कांग्रेसले चार, चार सिट जित्दा एकीकृत समाजवादीले तीन सिट जितेको छ भने राप्रपाले एउटा सिट ।

तर, प्रत्यक्षमा शुन्यमा झरेको एमाले समानुपातिकमा भने पहिलो बनेर लिड गरिहेको छ । मतगणना जारी रहेका बेला एमाले १ लाख ८३ हजार मतसहित अगाडि छ । कांग्रेस १ लाख ८० हजार मतसहित पछ्याइरहेको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कर्णालीमा प्रत्यक्षतर्फ पनि एमाले पहिलो थियो । एमालेले ६, माओवादीले ५ सिट जित्दा एउटा सिट माओवादीका बागी उम्मेदवारले जितेका थिए । कांग्रेस निल बनेको थियो ।