विद्युत पोलका केबल र इन्टरनेटको तार व्यवस्थित गर्न प्राधिकरणको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको हो ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबलले शहरलाई कुरुप बनाएको भन्दै प्राधिकरणले आगलागीलगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको उल्लेख गरेको छ ।

आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न समय दिएर सार्वजनिक रूपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

‘तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुनसक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्नेछ’, निर्देशक सिलवालले भने ।