प्रदेश ५ मा समुदायस्तरमै संक्रमण फैलिएपछि स्थानीय त्रासमा

बुटवल-प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण स्थानिय स्तरमा फैलिएकाे छ ।

समुदायस्तरमै संक्रमण फैलिएपछि स्थानीय त्रासमा रहेका छन् । रुपन्देहीको बुटवल र देवदहमा समुदायस्तरमै संक्रमण फैलिएकाे हाे । कपिलवस्तुको तौलिहवा क्षेत्रमा यात्रा विवरण नै नभएका थुप्रै मानिसमा काेराेना संक्रमण देखिएको छ ।

बाँकेमा पनि संक्रमण दर उच्च रुपमा बढेको छ । संक्रमितको संख्या ह्वात्तै बढेसँगै ‘कन्ट्याक ट्रेसिङ’ गर्न कठिन भएको छ ।

बुटवल– ११ र १३ मा कोरोना संक्रमितको संख्या बढेको छ । लक्षण देखिएका संक्रमित बढेसँगै बुटवलको कोरोना विशेष अस्पतालमा जटिल प्रकृतिका बिरामीको संख्या बढेको छ ।

बुधबार मात्रै बुटवलका १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कपिलवस्तुको तौलिहवामा संक्रमितले बस्ने स्थानसमेत पाउन सकेका छैनन् ।

कपिलवस्तुमा संक्रमण पुष्टि भएका धेरै व्यापार व्यवसाय गर्दै आएका छन् । मासु, सुन, तरकारी पसल चलाउनेहरूमा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका व्यवसायीले भने, ‘घरमा छुट्टै बस्ने स्थान भएन, सरकारी अस्पतालमा बस्ने व्यवस्था भएन ।’ संक्रमण उच्च भइरहेका बेला सीमाबाट निर्वाद आवतजावत जारी भए पनि निगरानी गरिएको छैन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले सीमामा कडाइ गर्न निर्देशन दिएको छ ।

तोकिएका स्थानबाट सुरक्षित आवागमन गर्न दिने र उनीहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइन बस्न लगाउने निर्णय केन्द्रले गरेको हो ।

पछिल्लो समय उद्योग कलकारखानामा काम गर्न आउने मजदुरलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने जिम्मेवारी उद्योगीको भएको केन्द्रले जनाएको छ ।

यस अघिका क्वारेन्टाइनलाई पुनः सञ्चालन गर्न र अन्तरप्रदेश आवागमनलाई सुरक्षित बनाउन जिल्लास्थित कोरोना संकटन व्यवस्थापन केन्द्रलाई निर्देशन दिइएको छ ।

तराईका जिल्लामा १ सय र २ सय बेडको आइसोलेसन चलाउन निर्देशन दिएको केन्द्रले रुकुम पूर्वमा ५० बेडको आइसोलन तयार गर्न भनेको छ ।