विज्ञान र प्रविधिलाई देशको समृद्धिसँग जोडिनुपर्नेमा विज्ञहरूको जोड

विज्ञान र प्रविधिको उच्चतम् अवलम्बन गरेर मुलुकको आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले जोड दिनुभएको छ ।

विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमका वक्ताले राज्य र राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिलाई चेतनाको रूपमा लिएर काम गर्न सकेमात्रै समृद्धिको यात्रा सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँहरुले विज्ञानको प्रयोग मानवजीवनको अपरिहार्य वस्तु भएको र यस क्षेत्रको विकास प्रवद्र्धनमा राज्यको लगानी बढाइनुपर्नेमा जोड दिनुभयो । पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले प्रविधिको पहुँचको प्रतिस्पर्धात्मक समयमा विज्ञानलाई जनविज्ञानका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । उहाँले उद्योग र आवश्यकतालाई प्रविधिसँग कसरी जोड्ने चुनौती रहेको भन्दै देशको समृद्धिका लागि तीनै तहका सरकारले लगानी ढाँचा बनाएर विज्ञान र प्रविधिमा लगानी गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले सम्पूर्ण जीवन पद्धत्ति र विकास प्रक्रियामा विज्ञानको उपयोग भइरहेको भन्दै यसलाई मुलुकको विकाससँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले विज्ञान र प्रविधिको ऐतिहासिकता र सामाजिकतालाई राजनीतिसँग जोडेर अघि बढिए मात्रै यो क्षेत्रमा विकास गर्न सकिने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले विज्ञानको प्रयोग जीवनको हरेक क्षणमा भइरहेको तर त्यसलाई बुझ्न नसकेका कारण देशले लाभ लिन नसकिएको भन्दै वैज्ञानिक खोज, अनुसन्धानमा लागानी बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

फाउण्डेशनका अध्यक्ष प्रकाश विकल्पले विज्ञान र प्रविधिको महत्व हरेक क्षेत्रमा रहेको र यसलाई आधार बनाएर विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा ‘विकास नीति र वैज्ञानिक संस्कार’ विषयमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका विज्ञ दिनेशराज भुजुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।