काठमाडौँका नयाँनयाँ ठाउँमा हैजा फैलिँदै, सरकार अझै उपायविहीन

काठमाडौँ । माझीले सल्लाह गर्दागर्दै गाउँ डुबेको कुरा नीतिकथामा पढ्न पाइन्छ । हैजा महामारीका सन्दर्भमा पनि काठमाडौँले यही अवस्था बेहोर्ने जोखिम बढेको छ । काठमाडौँ उपत्यकामा हैजा संक्रमण बढिरहे पनि सरकारले नियन्त्रणका लागि कुनै प्रभावकारी उपाय भेटिसकेको छैन ।

पानीबाट हैजा सार्ने जीवाणु फैलिएको आशंका गरिए पनि कुन स्रोतबाट यस्ता जीवाणु मिसिए भनेर पत्ता लगाउन ढिला भइसकेको छ । उपत्यकाका फरकफरक स्थानमा बिरामी फेला परेकाले अब कुनै एउटै स्रोत नभई अनेकतिर जीवाणु फैलिइसकेको विज्ञहरुको आकलन छ । बुढानीलकण्ठ नगरपालिकाले गरेको परीक्षणले त्यहाँ ७२ प्रतिशत पानी संक्रामक राेग फैलाउने जीवाणुयुक्त पाइएकाले परिस्थित झन् गम्भीर बन्दै गएको देखाएको छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार, बागबजार, डिल्लीबजार, कपन, कोटेश्वर, बल्खु, सानेपालगायत क्षेत्रमा हैजा संक्रमण देखिइसकेको छ । बागबजार, सानेपा र डिल्लीबजारकाे खानेपानीमा समेत हैजा फैलाउन सक्ने जीवाणु भेटिएका छन् । कपन क्षेत्रमा हैजा संक्रमण देखिएपछि बूढानीलकण्ठ नगरपालिकाले पानीको परीक्षण गर्दा ७२ पानीमा कोलिफार्म जीवाणु पाइएको छ ।

गत वर्ष असोजमा कपिलवस्तुको कृष्णनगरमा हैजा नियन्त्रणबाहिर जाँदा सरकारले खोप अभियान सञ्चालन गरेको थियो । उपत्यकामा पनि संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयले खोप लगाउनेबारे छलफल थालेको छ । तर घना बस्ती भएकाले ठूलो जनसंख्यालाई खोप लगाउन कठिन हुने बुझाइ मन्त्रालयका अधिकारीहरूको छ । तर विज्ञहरु भने हैजा देखिएका स्थानमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् ।

एक साताअघि बागबजारका २ दुई दिदी बहिनीमा हैजा देखिएको थियो । त्यसपछि दिनदिनैजसो नयाँनयाँ ठाउँमा हैजाका बिरामी देखिएका छन् । बर्खायाममा पानीजन्य राेगहरु काठमाडौँ उपत्यकामा बर्सेनि बढी देखिने गरेका छन् । यसमध्ये पनि झाडापखालाका बिरामीको चाप अस्पतालमा धेरै छ । समितिको छलफलमा सांसदहरुले संक्रमणले भयावह रुप नलिँदै नियन्त्रणका लागि काम गर्नुपर्ने बताएका थिए । तर सांसदहरुले तत्काल के उपाय अपनाइँदै छ भनेर सोध्दा सरकारी अधिकारी पूरै नाजवाफ थिए । तत्काल प्रभावकारी कदम नचाल्दा ठूलै मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आउने जोखिम बढेको छ ।