चिनियाँ कम्पनीबाट बुढीगण्डकी खोस्ने निर्णयप्रति चीनको असन्तुष्टि

काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोस्ने सरकारको निर्णयप्रति चीनले असन्तुष्टि जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताइन् । दूतावासले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्ने उनको भनाइ थियो ।

सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी जलविद्युत आयोजना बनाउन दिने निर्णय खारेज गरेको २ सातापछि चीनले असन्तुष्टि पोखेको हो । चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी जलविद्युत आयोजना बनाउन दिने २०७५ असोज ६ गतेको निर्णय सरकारले चैत २४ गते खारेज गरेको थियो । राजदूत यान्छीले यस्ता निर्णयले नेपालमा चिनियाँ लगानीकर्तालाई गाह्रो पार्ने बताइन् ।

उनले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोपको पनि खण्डन गरेकी छन् । दुई देशबीचको व्यापारको तथ्यांकले पनि नाकाबन्दी आधारहीन पुष्टि हुने उनको भनाइ छ । कोभिडका बेला स्वास्थ्यलाई ध्यानमा राखेर केही सतर्कता अपनाइएको तर त्यसलाई नाकाबन्दी भन्न नमिल्ने उल्लेख गर्दै उनले २ देशबीच यस आर्थिक वर्षमा १ अर्ब ७७ करोड अमेरिकी डलर बराबरको व्यापार भएको तथ्यांक प्रस्तुत गरिन् ।