देउवाविरुद्ध बाँकी सबै आकांक्षी एक ठाउँमा उभिने संकेत, सशांकले पौडेललाई समर्थन गरेपछि संस्थापनमा तरंग

काठमाडौँ । नेपाली कांग्रेसमा यसपालि शेरबहादुर देउवाको एक छत्र राज जसरी पनि ढाल्नुपर्ने मत बलियो बन्दै गइरहेको छ । यही तयारीका लागि संस्थापनइतर खेमाभित्र सघन छलफल चलिरहेको छ । यस खेमाभित्रका सबै आकांक्षी मिलेर यसपालि देउवालाई जसरी पनि हराउनुपर्ने समझदारीका साथ साझा उम्मेदवार तय गर्ने कसरत भइरहेको छ ।

सोमबार र  मंगलबार गरी दुई दिन लगातार चलेको छलफल सकारात्मक दिशामा उन्मुख भएको नेताहरुले बताएका छन् । प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा मंगलबार बसेको संस्थापनइतर खेमाका प्रभावशाली नेताहरुको बैठकमा रामचन्द्र पौडेलका नाममा सहमति जुट्ने संकेत देखिएको छ । आसन्न महाधिवेशनमा सभापतिका एक सशक्त दावेदार एवं बीपीपुत्र सशांक कोइरालाले पौडेलका नाममा सहमति जुटाउन भन्दै दावी त्यागेको घोषणा गरेका छन् । उनले पौडेललाई समर्थन गरेको बताएका छन् ।

आफ्नै खेमाभित्र एकमत कायम गराउन मुस्किल परिरहेका बेला पौडेलले सशांकलाई समर्थन गरेपछि ठूलो राहत मिलेको छ । प्रकाशमान सिंहकै घरमा सशांकले यस्तो घोषणा गर्नु अझै अर्थपूर्ण छ । त्यसैले अब यस खेमाबाट पौडेल सर्वसम्मत बन्दै गएको देखिन्छ । शेखर कोइरालाले अहिले तत्काल दावी नत्यागिहाले पनि अन्तिम समयमा कोइराला परिवारको एउटै निर्णय आउने अपेक्षा गरिएको छ । यसो भएमा पौडेलको दावेदारी थप सशक्त बन्नेछ ।

उता संस्थापन खेमाभित्र यसपालि चरम विभाजन छ । तीन दशकभन्दा बढी समयदेखि सँगै रहेका नेता विमलेन्द्र निधिले देउवाको साथ छाडेका छन् । निधिले स्वयं देउवालाई चुनौती दिँदा कम्तीमा ३ सय मत काटिने सम्भावना छ । त्यस्तै गोपालमान श्रेष्ठले पनि देउवा पक्षबाटै सभापतिमा दावी गरिरहेका छन् । पार्टीमा उनको खासै प्रभाव नरहे पनि २ देखि ३ सय मत प्रभावित पार्न सक्ने आकलन गरिएको छ ।

हुन त कृष्ण सिटौलाले आफूसँग ५ सय मत रहेको दावीसहित देउवालाई जिताउने ठेक्का लिएको भन्नेहरुको कमी छैन । सिटौलाले देउवासँग के कुराका लागि मोलमोलाइ गरिरहेका छन् भन्ने पनि स्पष्ट बाहिर आइसकेको छैन । देउवालाई निधिको ठाउँमा कुनै बलियो नेतालाई संस्थापनबाट चोरेर लैजानु छ । त्यो ठाउँ सिटौलाले पुड्ताल गर्ने सम्भावना छैन । प्रदीप पौडेललाई महामन्त्री दिन देउवा तयार हुन सक्ने आकलनका आधारमा कतिपयले सिटौलाको मोलमोलाइ नै यही हो भनेका छन् । तर, सिटौला खेमाका मुख्य नेता गगन थापाले साथ छाडिसकेका कारण अब उनीसँग मोलमोलाइ गर्न सक्ने शक्ति भने खासै छैन ।

पौडेल खेमाबाट जसरी पनि सर्वसम्मत उम्मेदवार अघि सार्नुपर्ने दबाब युवा पंक्तिबाट पनि बढेको छ । सोही समूहका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरीसहितको मंगलबार बसेको बैठकले इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार तोक्न दबाब दिएका थिए । देउवाका पालामा कांग्रेस इतिहासमै सखाप भएको, संगठनलाई पूर्णता र गतिशीलता प्रदान गर्न वास्ता नगरेको, आफ्ना पार्टीका नेताभन्दा विरोधी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न पुगेको र अदालतलाई पनि विवादमा ल्याएकोले पार्टीको थप साख गिरेको भन्दै जसरी पनि यसपालि देउवालाई विस्थापित गर्नैपर्ने निष्कर्षमा पौडेल खेमा पुगेको हो ।

पौडेलले पनि अहिले जसरी हुन्छ, देउवाको हातबाट पार्टीको सत्ता खोसिहाल्ने, अनि पछि शक्ति बाँडफाँट गर्न सकिने आफ्नो खेमाभित्रका नेताहरुलाई बताएका छन् । आउँदो चुनावपछि सभापति नै छाडेर कार्यवाहक दिन सकिने पौडेलले भनेका छन् । आउँदो चुनावमा कांग्रेसले बहुमत ल्याउने भएकाले सभापति पौडेल राष्ट्रपति वा प्रधानमन्त्री बन्ने, पार्टीमा अर्को नेतालाई कार्यवाहक सभापतिका रुपमा पार्टी चलाउन दिने र अर्को एकजनाले सरकार चलाउने गरी सहमति कायम गर्ने प्रयास भइरहेको छ । पौडेल खेमाभित्र सर्वसम्मत उम्मेदवार अघि सरेमा देउवालाई पुनः दोहोरिन निकै कठिन पर्न सक्नेछ । उस्तै परे पहिलो चरणकै चुनावमा पौडेल सभापति घोषित हुन सक्नेछन् ।