सरकारलाई समर्थन निरन्तर रहन्छ : अध्यक्ष यादव

काठमाडौँ, २६ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताउनुभएको छ । 

पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गर्नुभयो । “सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उहाँले भन्नुभयो ।  

राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भन्नुभयो– “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।” केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उहाँको भनाइ थियो । 

बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उहाँले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गर्नुभयो ।