सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौँ, २६ वैशाख : इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजित कार्यक्रममा  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्।

शपथपछि सभामुख घिमिरेले नेम्बाङलाई सांसदको लोगो लगाइदिएका थिए। कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए।

गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्।