आज कानुन दिवस, देशैभरका अदालत बिदा

काठमाण्डौं, बैशाख २६ आज कानुन दिवसकाे अवसरमा  सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शुभकामना दिनुभएकाे छ।

प्रदेश सरकारले दिएको सोमबारको बिदा अस्वीकार गरेको नेपालको न्यायालयले आफ्नै पात्रो अन्तर्गत आज बैशाख २६ मा भने कानुन दिवस मनाइरहेको छ । कानुन दिवसको दिन सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालत लगायतका सम्पूर्ण न्यायिनक कार्यालयहरुमा बिदा दिइएको छ ।

नेपालको सर्वाेच्च अदालत गठनको दिन वि.सं. २००९ साल बैशाख २६ गतेको सम्झनास्वरुप कानुन दिवस मनाउने प्रचलन छ ।
कानुन दिवसको दिन सर्वाेच्च अदालत परिसरमा भव्य समारोह आयाजना गरी राष्ट्र प्रमूखको समेत उपस्थितिमा राज्यको उच्च पदस्थ व्यक्तिहरुलाई निम्तो दिई भव्य कार्यक्रम गर्ने प्रचलन छ । यसबर्ष २०८१ सालको बरिष्ठ अधिवक्ताको उपाधी दिने चर्चा पनि न्यायवृत्तमा चलेको पाइन्छ ।

राज्यका संरचनाहरुमै बिदाको द्धन्द बेलाबखत सार्वजनिक हुने गरेको क्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल भाषा र तामाङ भाषाको प्रबद्र्धनको लागि भनी गत सोमबारका लागि दिएको बिदा भने देशैभरका अदालतले अस्वीकार गरेका थिए । आज अरु कार्यालयहरु भने नियमित संचालनमा रहनेछन् ।

लामो समयदेखि अड्किएका न्यायापालिकाका नियुक्तिहरु विश्वम्भर प्रसाद श्रेष्ठ प्रधान न्यायाधीश भएपश्चात् भटाभट भई अघि सरेको र मुद्दाको सुनुवाई समेत निकै प्रभावकारी ढंगले अघि बढेको पाइन्छ । यद्यपी सर्वाेच्च अदालतमा चार न्यायाधीशको पद खाली भइसक्दा पनि नयां नियुक्तिको सुरसारै छैन ।