मधेश सरकार जोगाउन प्रचण्ड सरकारमै रहन चाहन्छन् उपेन्द्र यादव, गठबन्धनले के गर्ला ?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवमा प्रधानमन्त्री हुने लोभ पलाएको नतिजा जसपा फुटिसकेको छ। नेपाल आफ्नो पार्टी एकीकृत समाजवादी पनि नफुटोस् भनेर नेताहरुसँग छलफल गरिरहेका छन्। अशोक राईले नयाँ जसपा गठन गरेपछि अब यादवले सरकार छाड्ने आकलन प्रधानमन्त्री पुष्पकमल दाहालमा थियो। र, जसपाले केन्द्र सरकार छाड्दा मधेश सरकार आफूहरुले नेतृत्व गर्ने दाउमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए। मधेशमा जसपा नेतृत्वमा सरकार रहे पनि एमाले पहिलो दल हो।

तर, उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका यादव भने सरकार छाड्न तयार छैनन्। बरु उनी यही सरकारमा रहन चाहन्छन्। एमाले र माओवादीको समर्थन विना जसपाले मधेसमा सरकार बनाउन सक्दैन, उसँग १९ सिट मात्र छ। अझ त्यसमा पनि अशोक राई समूहले पार्टी नै फुटाएपछि मधेश प्रदेशमा पनि सांसद विभाजन हुनेछन्। केन्द्रमा राईतिर सात र यादवतिर पाँच सांसद मात्र छन्। मधेशमा पनि त्यही हालत हुने देखेपछि यादव भने प्रचण्ड नेतृत्वकै सरकारमा रहने बताइरहेका छन्। उनले मंगलबार मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू गठबन्धनमै रहेको र सरकारबाट नबाहिरने बताएका छन्।

स्वास्थ्यमनत्री यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सरकारमै रहने बताइसकेका छन्। वैशाख २३ गते अशोक राईले जसपा नेपाल विभाजन गरी गठन गरेको नयाँ जसपाले पनि प्रचण्ड सरकारलाई समर्थन गरेको छ। उपेन्द्र नेतृत्वको जसपा नेपालका ७ सांसद अशोक राईतिर खुलेका छन्। यसमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहसमेत छन्।   मंगलबारको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई समर्थन गर्दै सरकारमा रहने निर्णय गरेको अध्यक्ष अशोक राईले बताए। नवलकिशोर साह सुडीलाई नै निरन्तरता दिने निष्कर्षमा नयाँ जसपा पुगेको छ।  

प्रचण्डलाई पनि बहुमत पुर्याउन धौधौ हुने भएकाले बरु दुबै जसपालाई सरकारमा राख्ने रणनीति लिएका छन्। भोलि कुनै सानो दल रिसाएर सरकार छाडेमा पनि अल्पमतमा नपरियोस् भनेर उनले यादवलाई चलाएका छैनन्। तर भोलिको परिस्थिति के हुन्छ त्यही अनुसार निर्णय हुने उनी निकट स्रोतको भनाइ छ। 

प्रधानमन्त्री बन्छु भन्ने लालसाबाट भने यादव र नेपाल दुबै मुक्त भएका छन्। पार्टी नै जोगाउन नसकेपछि यादव रन्थनिएका छन्। नेपाल भने १० सिटको पार्टीलाई कसरी जोगाउने भनेर चिन्तामा छन।

जसपालाई मधेस सरकारको चिन्ता रहेझैँ एकीकृत समाजवादीलाई सुदूरपश्चिम सरकारको चिन्ता छ। सुदूरपश्चिमममा चार सिट मात्र रहे पनि गठबन्धनका आधारमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्। उनी यसअघि गठबन्धनसँग सल्लाह नै नगरी विश्वासको मत लिन तम्सिएका थिए। यता जसपा फुटेपछि एकीकृत समाजवादी पनि फुट्ने भयले त्यसको असर सुदूरपश्चिममा पनि परेको छ। विश्वासको मत लिने अडानबाट उनी पछि हटेका छन्। तर, सरकार गठनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले अब एमाले र माओवादीलाई फकाएर जानुको विकल्प माधव नेपालसामु छैन। होइन भने सुदूरपश्चिम सरकार गुमाउनुपर्ने हुनसक्छ।