वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

प्रधानमन्त्री बन्ने माधव नेपालको योजनामा ब्रेक, एकीकृत समाजवादी फुटने त्रास

अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला जसपा फुट्यो त्यसको त्रासमा छन् माधवकुमार नेपाल। फुट्न त जसपा फुटेको हो, एकीकृत समाजवादी होइन। तर, राष्ट्रिय दलसमेत बन्न नसकेको र प्रतिनिधिसभामा १० सिट मात्र रहँदा पनि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले बरुक्कबुरुक्क उफ्रिरहेका नेपाल एकाएक पछारिएका छन्। अशोक राई समूहले जसपा नफुटाएको भए नेपाल आजभोलि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरिरहेका हुन्थे। तर, पाँचौ शक्ति जसपा फुटेपछि अब जुनसुकै बेला एकीकृत समाजवादी फुट्ने भए नेपालमा छ।

एमाले र माओवादी गठबन्धनमा रही सरकारमा रहे पनि नेपाल र यादवको योजना भने कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर अर्काे गठबन्धन बनाउने थियो। देउवाले पनि आलोपालो प्रधानमन्त्रीको आवश्वासन दिएपछि दुबै जना खुट्टा उचालेर बसेका थिए। तर, यही भेउ पाएका ओली र प्रचण्डले जसपा फुटको वातावरण बनाइदिए। र, आइतबार सात सांसदसहित जसपा फुट्यो। सोमबार निर्वाचन आयोगमा दर्तासमेत भइसकेको छ।

https://barnanmedia.com/news/detail/174726/

विद्यालयको रकम हिनामिना गरेको भन्दै  प्रधानाध्यापकसमेत दुईलाई कैद सजाय

सुनसरीस्थित श्री प्राथमिक विद्यालय नरसिंहका प्रधानाध्यापकसमेत दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार दुई वर्ष अघिको मुद्दामा आंशिक ठहरको फैसला गरेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजालसले गरेको फैसलामा प्रधानाध्यापक र राहत शिक्षक दोषी ठहर भएका छन् । अवकाश पाइसकेका प्रधानाध्यापक सिद्धिनाथ लाल दास र महावीर प्राविका तत्कालीन राहत शिक्षक तथा प्रधानाध्यापक मनोज कुमार चौधरीलाई विशेषले दोषी ठहर गरेको हो ।

https://barnanmedia.com/news/detail/174727/ 

मालपोतका तीन अधिकृत र कर्मचारीसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

जिल्ला मालपोत कार्यालय पर्साका तीन अधिकृतसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले नौ महिना अघि दायर एक मुद्दामा ठहरको फैसला गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवरका साथै सदस्य मुरारीबाबु श्रेष्ठको इजलासबाट सोमबार यस्तो फैसला आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरेको भन्दै २४ साउन २०८० मा ६ जनामाथि मुद्दा दायर गरेको थियो । जसमा सबैमाथि कसूर कायमको फैसला भएको छ । 

विशेषले मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीको हकमा चार लाख ७८ हजार रुपैयाँ बिगो तोकेको छ । बिगोको दोब्बर जरिवाना हुने फैसला भएको छ भने उनलाई एक वर्ष कैद हुने भएको छ । 

https://barnanmedia.com/news/detail/174728/

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

 विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ । 

तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरुको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ । 

जग्गा हिनामिनामा केही व्यक्ति दोषी ठहर

नगर विकास समितिको ५ सय ७२ रोपनी सरकारी जग्गा हिनामिनामा विशेष अदालतले केही व्यक्तिलाई दोषी ठहर गरेको छ ।  विशेषले उनीहरूलाई कैद, बिगो तथा जरिवाना समेत गर्ने फैसला सुनाएको छ। अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारिबाबु श्रेष्ठको इजलासमा उनिहरूलाइ दोषी ठहर गरिएकाे हाे।

सोमबार भएकाे फेसलामा विशेषले पल्टु रानासहित पुष्पराज भट्ट, महनदेव भट्ट र तुलान्त जोशी समेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम कसुरमा दोषी ठहर गरेको हो ।  सोही ऐन बमोजिम उनीहरूलाई जनही १ वर्ष ६ महिना कैदको सजाय समेत  सुनाएको छ। त्यस्तै विशेषले कान्तुराम पनेरु, चन्द्रप्रसाद चौधरीलाई पनि दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ। त्यस्तै उनीहरूलाई जनही दामासाही रूपमा २९ लाख ७४ हजार ३ सय ६० रुपैयाँ  बिगो भराउने फैसला सुनाएको छ। 

अशोक राईको पार्टीलाई निर्वाचन आयोगबाट रातारात मान्यता, अदालतबाट पाउन मुस्किल

निर्वाचन आयोगले अशोक राईको पार्टीलाई रातारात मान्यता प्रदान गरेको छ । उपेन्द्र यादव अमेरिका भ्रमणमा गएको छेको पारी यता राईको नेतृत्वमा ७ सांसद र ३१ केन्द्रीय सदस्यले नयाँ पार्टी गठन गरी निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

एक त हालको अवस्थामा दल विभाजन गर्ने कुनै कानुन नै छैन । कानुन हुँदाका बखतलाई पनि रातारात दर्ता गरिहाल्ने कार्यविधि छैन । कार्यविधिअनुसार यस्तो निवेदन परेको कम्तीमा ७ दिनसम्म जाँचबुझ, सनाखत र कागजात प्रमाणीकरणमै लाग्छ । 

https://barnanmedia.com/news/detail/174734/

अख्तियारले कुलमान घिसिङलाई अकुत सम्पत्तिमा छानबिन गर्ने निर्देश

कुलमान र उहाँको परिवारका सदस्यविरुद्ध धेरै उजुरी परेकाले छानबिन थालेको जानकारी दिँदै अख्तियार स्रोतले वर्णन मिडियासँग भन्यो– ‘उजुरी आएकाले गम्भीरतापूर्वक छानबिन हुन्छ, अकुत सम्पति आर्जन गरेको देखिए सोहीअनुसार कारबाही हुन्छ।’

स्रोतका अनुसार उजुरीमा कुलमान घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा प्रयोग गरेर आफ्नो भाइ गणेश घिसिङको नाममा ३ करोडको कम्पनी दर्ता गराई प्राधिकरणको आवरणमा सोही कम्पनीबाट एक अर्बभन्दा बढीको कारोबार गरेको दाबी गरिएको छ।

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख

यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका  सबै काम पूरा गरेको छ ।  अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने जानकारी उहाँले दिनुभयो निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै हुनुहुन्छ । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप  संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न  सभामुखले बैठकमा पुनः अनुरोध गर्नुहुने बताइएको छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रप​​​​​​तिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।  विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ ।

महेन्द्रनगर विकास समितिको जग्गा जफत हुने

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले विक्रि वितरण तथा स्वामित्व हस्तान्तरण भएको विषयमा विशेष अदालतले सोमबार फैसला गरेको छ । तत्कालीन अध्यक्षहरुका साथै नायव सुब्बालाई विशेषले दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसलामा पदाधिकारीहरुलाई थप सजाय समेत गरिएको विशेषले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ वैशाख २०७९ मा तीन वटा र सोहि वर्ष २ कात्तिकमा एउटा मुद्दा दायर गरेको थियो । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको थियो । 

 

https://barnanmedia.com/news/detail/174750/

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको हो । 

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठले आग्रह गर्नुभयो । 

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि आएको छ ।

जस अनुसार आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार

सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । 

केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । 

https://barnanmedia.com/news/detail/174771/

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । 

वर्षाले केही घट्यो वायु प्रदूषण

मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ ।

वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो । डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी गराउनुभयो ।

 नेसनल पेमेन्ट गेटवे : पौडेललाई ९ वर्ष कैद तोकियो

 नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद हुने भएको छ। विशेष अदालतले मंगलबार उनीमाथि सजाय निर्धारण गरेको हो।

पौडेलबाहेक सबै प्रतिवादीलाई विशेषले सफाइ दिइसकेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले ७ वैशाखमा नै उनलाई दोषी ठहर गरेको थियो।

https://barnanmedia.com/news/detail/174800/

स्याङ्जाका अहेवलाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ

 विशेष अदालतले स्याङ्जामा कार्यरत एक अहेबलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिएको छ । मंगलबार विशेषले विन्दु कोइरालासमते दुई जनालाई सफाइ दिएको हो । 

विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिना अघि दायर गरेको मुद्दामा कोइराला र उनकी पत्नी गीतालाई पनि प्रतिवादी बनाएको थियो । 

https://barnanmedia.com/news/detail/174807/