स्याङ्जाका अहेवलाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ

काठमाडौं २५ वैशाख,: विशेष अदालतले स्याङ्जामा कार्यरत एक अहेबलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिएको छ । मंगलबार विशेषले विन्दु कोइरालासमते दुई जनालाई सफाइ दिएको हो । 

विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिना अघि दायर गरेको मुद्दामा कोइराला र उनकी पत्नी गीतालाई पनि प्रतिवादी बनाएको थियो । 

कोइराला २०५४ सालदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । ०७८ मंसिरसम्म उनले आयभन्दा बढी व्यय तथा सम्पत्ति जम्मा गरेको अख्तियारको दाबी थियो । उनको वैध आर्जन दुई करोड ९७ लाख हुँदा व्य भने तीन करोड ८८ लाख भेटिएको थियो । 

जसपछि स्रोत नखुलेको ९० लाख ३९ हजार रुपैयाँ अवैध रहेको दाबीसहित मुद्दा दायर भएको थियो । यद्यपि आयोगको दाबी पुष्टि नहुने भन्दै विशेषले कोइराला दम्पत्तिलाई सफाइ दिएको छ ।