नेसनल पेमेन्ट गेटवे : पौडेललाई ९ वर्ष कैद तोकियो

 काठमाडौं २५ वैशाख नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद हुने भएको छ। विशेष अदालतले मंगलबार उनीमाथि सजाय निर्धारण गरेको हो।

पौडेलबाहेक सबै प्रतिवादीलाई विशेषले सफाइ दिइसकेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले ७ वैशाखमा नै उनलाई दोषी ठहर गरेको थियो।

राष्ट्रिय भुक्तानी प्रणाली अर्थात् नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार रुपियाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

आयोगले गत १५ असोजमा मुद्दा दायर गरेकोमा ६ महिनामै फैसला आएको हो। पौडेल सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक हुन्।

पेमेन्ट गेटवेका लागि उपकरण खरिद गर्न आर्थिक वर्ष २०७४/७५ को बजेटमा २५ करोड रुपियाँ विनियोजन गरिएकोमा मिलोमतोमै २४ करोड ७५ लाखको लागत अनुमान तयार पारिएको भेटिएको थियो ।

गेटवे स्थापना गर्नुपूर्व सो प्रणालीलाई प्रभावकारी बनाउन राष्ट्र बैंक र अन्य बैंक तथा महालेखा नियन्त्रक कार्यालयलगायत वित्तीय संस्थाहरूसँग समन्वय र संयोजन गर्नुपर्ने आवश्यकता थियो । त्यसको पहिचानसमेत नगरी र पूर्वतयारी बिना उपकरण र परामर्श सेवा खरिद गरेको र खरिद गरेका उपकरण प्रयोगमा नल्याई सरकारी सम्पत्ति हानि नोक्सानी गरेको दाबी अख्तियरको थियो ।