बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

काठमाडौँ, २५ वैशाखः रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।

खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउने गरेका छन् । जिल्लाभित्रैका कतिपय ठाउँका बालबालिकाले प्रशिक्षकको अभावमा शुल्क तिरेर पनि तेक्वान्दो खेलको अभ्यास गर्न पाएका छैनन् । खेलमा विशेष रुचि भए पनि विभिन्न समस्याका कारण खेल अभ्यास गर्न पाउने अवसरबाट वञ्चित छन् । तर सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी क्षेत्रका बालबालिकाले दैनिक निःशुल्क तेक्वान्दो खेलको अभ्यास गर्न सक्छन् । यो अवसर यहाँका बालबालिकाले ३३ वर्षदेखि पाइरहेका छन् । 

कमलामाई नगरपालिका–४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्षअघिदेखि नियमित सामेल हुनुहुन्छ । बिहान सबेरै घरमा मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्कनु हुन्छ । जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारमा माध्यमिक तहको शिक्षा प्राप्त गरिरहनु उहाँ बेलुका विद्यालयबाट पढेर घर फर्केपछि सोही कार्य दोहो¥याउनु हुन्छ । 

चौरमा पुगेर आफू जस्तै साथीहरुसँग दौडनुहुन्छ । टाउको, आँखा, मुख, घाँटी, औँला, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको व्यायाम गर्नु हुन्छ । खेलमा साइज स्ट्रेच, किक एक्सरसाइज लगायत खेलाडीको स्तरअनुसार सत्रुको कल्पनामा गरिने आत्मारक्षाको स्टेपहरु हुन्छन् । उहाँले यो अभ्यासका लागि बिहानको दुई घण्टा र बेलुकाको दुई घण्टा छुट्याउनु भएको छ ।  

तेक्वान्दो खेलमा हाफ ब्ल्याक बेल्ड प्राप्त गरिसक्नुभएकी श्रेष्ठ खेल अभ्यासले आफ्नो क्षमता विकासमा सहयोग गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेल अभ्यासले खेलाडी मात्रै बनाउँदैन, असल खानपानको अभ्यास गराउँछ । समग्रमा असल नेतृत्व क्षमता भएको व्यक्तित्व निर्माण र अनुशासित बनाउन मद्दत गर्दछ । सानातिना आक्रमणलाई प्रतिकार गरेर अगाडि बढ्ने सामर्थ प्रदान गर्दछ ।”

खेल अभ्यास गर्र्र्र्ने बालबालिका पढाइबाट बचेको समयमा चौरमै भेला हुन्छन् । राम्रो जीवनशैलीका लागि असल व्यवहारका बारेमा प्रशिक्षकको प्रवचन सुन्ने, खेलको अभ्यास गर्ने र अन्य रचनात्मक र सिर्जनशील काममा केन्द्रित हुन्छन् । यसले खराब आनीबानी भएका साथी र गलत सङ्गतबाट बालबालिकालाई जोगाउन  सहयोग पुगेको अभिभावकहरुको भनाइ छ ।

कनपा–७ माझीटारकी आकृति माझिकाअनुसार तेक्वान्दोका प्रशिक्षक (कोच) डम्बर आलेले तेक्वान्दो खेलसँगै असल खानपान, असल जीवनशैली, असल व्यवहार, व्यायाम, आचारण र असल सङ्गतका बारेमा पनि सिकाउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “अस्वस्थकर खानपान र जीवनशैलीले हामीलाई विभिन्न रोगले च्याप्छ । बिहान सबेरै उठ्ने, नियमित व्यायाम गर्ने, स्वस्थकर र सन्तुलित खानेकुराहरु मात्रै खाने र हानिकारक तत्वहरुबाट बच्नु पर्छ ।” 

तेक्वान्दोलाई विशुद्ध खेलमात्र नभए स्वस्थ, तन्दुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायामका रुपमा लिनुहुन्छ, कमलामाई नगरपालिका–७ सिन्धुलीका स्थानीवासी तथा तेक्वान्दो खेलका प्रशिक्षक (कोच) डम्बर आले । 

विसं २०४८ देखि सिन्धुलीमा निरन्तर निःशुल्क तेक्वादो खेल सिकाउँदै आउनुभएको छ । खेलले स्वास्थ स्वस्थ, निरोगी बनाइराख्न र बालबालिकालाई आँटिलो र तेजिलो बनाने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कसैले कुनै पनि प्रकारको हिंसा गरेमा प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्दछ । खेलले शारीरिक, मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्दछ । लागुऔषध दुव्र्यसनी र मोबाइल, इन्टरनेटको लतबाट बचाउनसमेत खेलले सहयोग गर्दछ ।”

ध्यान, आत्मरक्षा, आत्मविश्वास, आत्मसम्मान, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकाई तेक्वान्दो खेल अभ्यास गराउन उहाँ सम्पूर्ण अभिभावकलाई सुझाव दिनुहुन्छ । प्रशिक्षक आलेका अनुसार तेक्वान्दो अभ्यास गरेका बालबालिकालाई खेलको अलवा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक जस्तो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक विद्यालयमा एक जना खेलकुदका लागि शिक्षक राख्ने नीति लिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको गुनासो छ । कमलामाई नगरपालिकाभित्र रहेका पाँच वटा बोडिङ स्कुलले भने कार्यान्वयनको सुरुआत गरेका छन् । “तीनै तहका सरकारले खेल क्षेत्रलाई थप व्यवस्थित र विकाससँगै विस्तार गर्न जरुरी छ”, प्रशिक्षक आले भन्नुहुन्छ, “तेक्वान्दो खेलको विकास र विस्तारले देशमा स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।” 

उहाँले हाल २० वर्षमुनिका ५० जनाभन्दा बढी बालबालिकालाई दिनुहुँ निःशुल्क तेक्वान्दो सिकाइरहनु भएको छ । अभिभावक अनिता तामाङ तेक्वान्दो खेल तालिममा जान थालेपछि आफ्नो छोरीमा धेरै परिर्वतन आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेलले बालबालिकालाई हरेक क्षेत्रमा सबल र सक्षम बनाउन सहयोग गरेको छ । असल खानपान, असल व्यवहार र अनुशासित बन्न पनि प्रेरित रहेको छ । 

निःशुल्क तेक्वान्दो सिक्ने अवसरको बढी लाभ बालिका तथा किशोरीहरुले लिन पाएका छन् । पहिला तेक्वान्दो खेलको अभ्यास गर्ने बालक र किशोर मात्रै हुने गर्दथे । खेलबाट आफ्नो आत्मारक्षा आफैँले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखनीय सहभागिता देखिन थालेको छ ।

बालबालिका मात्रै होइन, मोटोपनाबाट ग्रसितहरुले पनि तेक्वान्दोको सहारा लिएर शरीरलाई सन्तुलनमा राख्न थालेका छन् । सिन्धुलीगढी तेक्वान्दो दोजाङ र जिल्ला तेक्वान्दो सङ्घका अनुसार हाल जिल्लाभर चार सय तेक्वान्दोका खेलाडी छन् ।