चितवनका केराले पाउन थाल्यो बजार

 पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लाग्नुभएको छ ।

उहाँले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएको छ । उहाँले सुनाउनुभयो “विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।” यहाँको केराले बजार धान्ने अवस्था रहँदापनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उहाँले बताउनुभयो । केरामानै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौँ, पोखरा र बुटवल जाने गरेको बताउनुहुन्छ । 
 
अझै  थप पाँच बिघा क्षेत्रफलमा केरा खेती विस्तारका लागि काम गर्दै आएको उहाँले सुनाउनुभयो । केराले बजार पाउन थालेपछि यहाँका अर्का केरा उत्पादक किसान सागर भट्टराईले अहिलेको बजार देख्दा यस व्यवसायमा लाग्न उत्साह बढेको बताउनुभयो । भारतीय केराका कारण यहाँको उत्पादन विस्थापित हुने हो की भन्ने चिन्ता रहँदै गर्दा अहिले आएर नेपाली केराले बजार पाउन थालेपछि  आफुहरुलाई राहत मिलेको उहाँको भनाइ थियो ।

रत्ननगरका विष्णुप्रसाद काप्रीले हाल केराको बजार राम्रो भएको अवस्थामा खडेरीका कारण उत्पादन भने घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएको ठाउँमा त ठिकै होला तर हामीजस्ता १÷२ बिघा क्षेत्रमा केरा लगाउने किसानलाई खडेरीले असर गरेको छ ।”  केरामा मल हाल्नका लागि आकाशे पानी कुरेर बस्न परेको उहाँको भनाइ थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरे भने चितवनको केरा बजारमा पहिलेको भन्दा केही सुधार भए पनि उत्साह भने भई हाल्ने स्थिति नभएको बताउनुहुन्छ । 

यहाँ उत्पादन भएका मालभोग र जी नाइन जातका ठूला साइजका सग्ला केरा बिक्रीमा समस्या नभए पनि साना साइजका केरा भने  नबिकेको उहाँको भनाइ छ ।  लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उहाँले भन्नुभयो, “धेरै साथीहरुले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाइको लागि बोरिङ हाल्ने स्थिति पनि छैन ।” भारतीय केरा नआउने हो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्यसमेत बढी पाउने उहाँको भनाइ थियो ।  
 
जिल्लामा विशेषगरी जी नाइन र मालभोग केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुबै केराले बजार पाएसँगै व्यवसायी उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले जानकारी दिनुभयो । यद्यपि लगातारको खडेरी, हावाहुरी र रोगकीराका कारण केराखेतीमा समस्या रहिनै रहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।  
 
कार्यान्वयन एकाइका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको बताउनुभयो । उहाँले यो याममा जिल्लामा वार्षिक रुपमा उत्पादित केराको २५ प्रतिशत बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो । यस समयमा नेपाली केराले बजार धान्ने उहाँको भनाइ थियो । उहाँका अनुसार जिल्लामा वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।