लागूऔषधबाट २३ लाख आर्जन गरेको अभियोग लागेका तामाङ दोषी ठहर

काठमाडौं, २४ वैशाख लागूऔषध कारोबारबाट आर्जन गरेको सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा एक जना दोषी पाइएका छन् । विशेष अदालतले सोमबार मनिष भनिने दुर्गासिं तामाङमाथि कसूर कायम गरेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत २ गते दायर गरेको मुद्दामा कसूर ठहर गर्दै विशेषले सजाय निर्धारणको पेसी तोकेको हो । 

तामाङ प्रतिवादी रहेको लागू औषध मुद्दा चलिरहेको थियो । यसै क्रममा उनको कोठाबाट खैरो हेरोइनका साथै २३ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । लागू औषध नियन्त्रण ब्युरोले तामाङमाथि अनुसन्धान गर्न पत्राचार गरेको थियो । 

अनुसन्धानपछि तामाङमाथि ४० लाख सात हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएकोमा ठहर हुने फैसला भएको हो ।