डढेलोले वातावरण प्रदुषित

 वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ । आगोले सबै जङ्गल सखाप मात्र भएको छैन १० स्थानका घरगोठमा क्षति पुगेको छ । त्यसबाट दर्जनौँ पशुचौपाया र दुई जना मानिसको ज्यान समेत गएको छ । ती घटनापछि फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि जतासुकै जङ्गलमा धुवाँ उडेको देखिन्छ । जङ्गली जनावर र पशुपंक्षी कति मरे यकिन छैन । 
दैनिक  आगो लाग्दा आकाशमा उडेको धुवाँले दिउँसै अध्यारो जस्तो देखिन्छ । घरका छतमा धुलोको थुप्रो लाग्छ । जसका कारण सफाइ नगरे घरभरी धुलोले सताउने गरेको अधिकांशको गुनासो छ । धुवाँका कारण आँखा पोल्ने समस्या पनि छ । ज्वरो तथा रुघाखोकीका बिरामी समेत बढेको अस्पतालको तथ्याङ्क छ ।

बागलुङ नगरपालिका ३ का जयन्द्र उपाध्यायले आगलागीले घरमा खरानी उडेर आई बसी नसक्नु भएको गुनासो गर्नुभयो । दैनिक आउने धुवाँले स्वास्थ्यमा समेत असर परेको भन्दै आगो लगाउनेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । ‘जता हेरेपनि आगो लागेकै देखिन्छ, तर कसले लगायो खोजी भएको छैन’ उपाध्यायले भन्नुभयो, ‘दिउँसो गर्मी पनि बढिरहेको छ ।’ घाम लागेको नदेखिने तर गर्मी बढ्ने भएको उहाँले बताउनुुभयो । 

अस्पतालमा उपचारमा आउनेमा पनि श्वासप्रश्वासको समस्या भएका धेरै देखिएको र त्यसको कारण धुवाँधुलो भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आँखा पोल्ने समस्या भएको गुनासो गर्नुभयो । नगरपालिकाको फोहर फाल्ने स्थानमा लागेको आगोले बजारवासीलाई सताएको रिजालको भनाई छ । तत्काल निभाउने काममा नगरपालिकाले समेत उदासीनता देखाएको उहाँको टिप्पणी छ  । नगरपालिकाले एक दुईपटक आगो निभाउने प्रयास गरेपनि निभेको छैन । 

केही स्थानमा आगो निभाउने प्रयास भएपनि अधिकांश स्थानमा अनियन्त्रित छ । जसका कारण वातावरण प्रदुषण भएको हो । अधिकांश जङ्गलमा आगो लाग्नुमा प्राकृतिक कारण भने नभएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । नियोजित रुपमा आगो लगाउँदै हिँड्ने केही मानिस पक्राउ समेत परेको उहाँले बताउनुभयो । प्रहरीको तथ्याङ्क अनुसार वैशाखमा मात्रै बागलुङका २७ वटा सामुदायिक वनमा आगलागी भएको छ । ती घटनामा दुई जनाको मृत्यु र दुई घाइते भएका छन् । १० घर र १० गोठ जलेका छन् । ४३ घरपालुवा जनावरको मृत्यु भएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसहित स्थानीय खटिएका छन् । स्थानीय तहले राहत तथा खाद्यान्नका लागि सहयोग गरेका छन् । डिभिजन वन कार्यालयले सबै सुरक्षा निकायलाई आगो निभाउने उपकरण सहयोग गरेको छ । तर वातावरण संरक्षणतर्फ भने कुनै काम नभएको पाइएको हो । ‘घटनापछि आगो निभाउने काममा साथ र सहयोग भएको छ, तर पूर्वतयारी केही पनि देखिएन’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, ‘घटना भएपछि राहत र उद्धारमा भने हामी पनि खटिएका छौँ ।’ वातावरणमा परेको समस्याबारे सबै सचेत बन्न सकेमा आगलागीका घटना न्युनीकरण गर्न सकिने उहाँले बताउनुभयो