‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

काठमाडौँ, २२ वैशाख : ‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेख्नुभएको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । 

पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बिए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले जानकारी दिनुभयो । 

पूर्णाङ्क एक सयको यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी हुने लेखकद्वयले बताएका छन् । पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दा, पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकालगायत विषयमा चर्चा गरिएको छ । 

पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिविअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय हुनुहुन्छ । पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल–पिएचडी गरिरहनुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । 

त्यसैगरी ‘उकेरा डटकम’मा कार्यरत लेखक खड्का विशेष गरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्नुहुन्छ भने अर्किड इन्टरनेशनल कलेजमा प्राध्यापनरत हुनुहुन्छ । खड्काले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्टस्अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधि (पिएचडी) गरिरहनुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको सदस्य हुनुहुन्छ ।