भोलीदेखि सर्वाेच्चमा एउटा इजलास खाली हुने

काठमाण्डौं, बैशाख २२ न्यायाधीश सुष्मालता माथेमा भोली अनिवार्य अवकाशमा जाने भएकोले सर्वाेच्च अदालतमा भोलीदेखि एउटा इजलास खाली हुने भएको छ । 

६५ बर्ष पूरा गरी अनिवार्य अवकाश लिनुपर्ने अवस्था भएपछि माथेमा एक महिनादेखि बिदामा बस्दै आएकी छिन् ।  हाल उनी आफूले गरेका फैसलाहरु तयार गर्ने क्रममा रहेकी छिन् । अवकाश भएको दुइतीन बर्षसम्म पनि न्यायाधीशहरु आफूले गरेका पुराना फैसलाहरु तयार गर्नमा व्यस्त हुने गरेका छन् । 

माथेमा एउटा इमान्दार र विवादरहित छवि बनाएर आफ्नो अवधि पूरा गर्दैछिन् । सर्वाेच्च अदालतमा अहिलेसम्मकै महिला न्यायाधीशहरुमा माथेमा देवानी मुद्दा बुझ्ने न्यायाधीशको कोटीमा पर्छिन् ।

२०१६ साल बैशाख २३ मा बनेपा वडा नं. २ काभ्रेमा जन्मिएकी माथेमा २०४१ सालमा न्यायसेवाको अधिकृतबाट न्यायपालिकाको सेवामा प्रवेश गरेकी थिइन् । चालिस बर्षे सेवा अवधिमा माथेमा कहिल्यैपनि विवादमा नतानिएको जानकारहरु बताउंछन् । 

माथेमा अवकाश भएको दशदिनपछि बरिष्ठ न्यायाधीश तथा न्यायपरिषद्का सदस्य समेत रहेका डा. आनन्दमोहन भट्टराई बिदा बस्नुपर्ने अवस्था भएपछि सर्वाेच्च अदालतमा चार न्यायाधीशको पद खाली भइसकेको छ । 

प्रधानन्यायाधीश सहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्ति गर्नुपर्ने अवस्था भएपनि न्यायिक नेतृत्व भने डा. भट्टराईको अवकाश पर्खिरहेको पनि शुत्रहरुको दावी छ । एक त भट्टराई अवकाशमा जाने परिस्थितिमा छन् भने अर्काेतर्फ उनलाई समेत विवादमा तानिएको अडियो रेकर्ड काण्डले गर्दा उनी नियुक्तिको मुडमा समेत नभएको शुत्रहरुको दावी छ ।

जीवनभर इमान्दार छवि बनाएका न्यायाधीश भट्टराईलाई विवादमा तानेर कुनै न कुनै कोणबाट फाइदा लिनखोज्ने तत्व समेत सक्रिय हुनसक्ने पनि शुत्रहरुको दावी छ ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ४ ले सर्वाेच्च अदालतको कुनै न्यायाधीश अवकाशमा जाने भएमा त्यसको एकमहिना अघि नै सो खाली हुन गइरहेको पदमा सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था छ । 

एक त सर्वाेच्च अदालतका न्यायाधीशको पदमा नियुक्ति गर्नुअघि संसदीय सुनुवाईमा जानुपर्ने भएकोले एक महिनाको समय लाग्नसक्ने अनुमान गरेर नै सो व्यवस्था गरिएको हो भने अर्काे कुरा सर्वाेच्च अदालतमा न्यायाधीशको पद खाली नहोस्, जनतामा न्यायको अधिकार खण्डित हुने अवकाश नपरोस् भनेर सो व्यवस्था भएतापनि कुनैपनि समयमा यसरी संवेदनशिल रुपमा न्यायिक नेतृत्वले काम गर्न सकेको छैन ।