क्षमा पूजासहित जलधारा

 लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन् । आज बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको एक हजार आठसय मिटर उचारमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूजा गर्दै जलधारा गरेका छन् । स्थानीयवासीले पानी नपर्नुमा नागराजको रिसानी भएको जनाउँदै भूमेथान परिसरमा रहेको कालो नागलाई कुखुराको बली चढाएका जनाइएको छ । 

“पुराना दिनमा भूमेथान रिसानी हुँदा वर्षात हुँदैनथ्यो ।” झाक्री तामाङले भन्नुभयो, “अहिले पनि यस्तै भएको छ । खेतबारीमा लगाएका कृषिवाली मर्न थालेका छन् । पशुचौपायाले हरियो घाँस पाउन समस्या छ । जीवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान खुसी बनाउन जलधारा गरेका हौँ ।”

भूमेथानमा जलधारा गरेपछि केही दिनमै पानी पर्ने यहाँको स्थानीयवासीको विश्वास छ । मूला झाक्रीले ठ्याङ्ग्रो बजाउँदै त्यसमा साथ दिन पुगेका स्थानीयले कुखुरा, जल, चामल, अण्डा र भेटी चढाएर दिनभर गरेको क्षमा पूजाले भगवान् खुसी हुनुभएको स्थानीय मङ्गल तामाङले विश्वास व्यक्त गर्नुभयो । “भगवान्ले बुझ्ने गरेर हामीले क्षमा पूजा गरेका छौँ । जलधारा गरेका छौँ ।” उहाँले भन्नुभयो, “पूजाविधि, क्षमा पूजा र जलधारा गर्दा कतै बाधाविघ्न भएको छैन । भगवान् खुसी हुनुभएको छ ।”

लामो समयदेखि वर्षात् नहुँदा उच्च पहाडी क्षेत्र पञ्चकन्या–४ आरुखर्कसहित यहाँको थप्रेक र आसपासमा किसानले रोपेको मकै खेती आँैल्याउँदै थालेका छन् । पानीका मुहानहरु सुक्न थालेसँगै जीवित प्राणीको प्राण बचाउन कठिनाइ भएको वीरबहादुर तामाङले बताउनुभयो । “जलधारा गर्दै हामीले भगवान्लाई हामी जिवित प्राणी यसरी रमाउन चाहन्छौ । हामीलाई पानी चाहिन्छ । 

पानी दिनुप¥यो भन्ने वर माग्यौ” उहाँले भन्नुभयो । पञ्चकन्याका स्थानीय सहित नुवाकोटको विभिन्न स्थानमा पानी नपर्नुलाई भगवानाको रिसानी भएको जनाउँदै जलधारा गर्ने चलन पूरानो हो । भगवान इन्द्रको रिसानी हुदाँ पानी नपर्ने स्थानीयको विश्वासले सामुदाय अनुसार पण्डित, झाक्री, लामाहरुबाट क्षमा पूजा र जलधारा गर्दै किसानहरु पानी (वर्षा) पुकार्दै आइरहेका छन् ।