ठोरी छोटी भन्सार कार्यालयमा नयाँ सेवा थप

 पर्साको ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयमा सवारीसाधनको अस्थायी पैठारीको अनुमति दिने सेवा थप गरिएको छ । 

छोटी भन्सार कार्यालय ठोरीमा बुधबार एक कार्यक्रमबीच सवारीसाधनको अस्थायी पैठारीको अनुमति दिने सेवाको प्रारम्भ गरिएको हो । भन्सार कार्यालयको नियमित सेवा भने बिहीबारदेखि सुरु हुँदैछ । 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले  छोटी भन्सार कार्यालय ठोरीमा सवारीसाधनको अस्थायी पैठारीको अनुमति दिने सेवा आजदेखि थप गरिएको बताउनुभयो । 

“भारतको सीमावर्ती क्षेत्रबाट ठोरी नाका हुँदै आउने पर्यटकका सवारीसाधनलाई ठोरीमा नै प्रवेश गर्न पाउने वातावरण तयार भएको छ । पहिला वीरगञ्ज भन्सार कार्यालयबाट मात्रै पर्यटकको प्रवेश गराउने गथ्र्यांै । अबदेखि भने ठोरीबाट पनि इन्ट्री गर्ने वातावरण बनेको छ”, उहाँले भन्नुभयो, “यो सेवा प्रवाह गरेसँगै भारतीय पर्यटकलाई पर्सा तथा भरतपुरलगायतका पर्यटकीय गन्तब्यमा आउनलाई सहज हुने अपेक्षा गरेका छौँ ।” 

प्रमुख भन्सार प्रशासक पन्थीले छोटी भन्सार कार्यालयमा थप गरिएको सेवा बिस्तारले आगामी दिनमा नेपालका पर्यटकीयस्थलमा पर्यटनको आवागमनमा सहज हुने बताउनुभयो । “बन्द भएको खोलेको वा नयाँ सञ्चालनमा ल्याएको केही पनि होइन”, उहाँले भन्नुभयो, “छोटी भन्सार कार्यालयमा नियमितरुपमा सञ्चालन हुँदै आइरहेको थियो ।”
 
भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहालले छोटी भन्सार कार्यालयबाट सवारीसाधनको अस्थायी पैठारीको अनुमति दिएसँगै भरतपुर क्षेत्रमा भारतीय पर्यटकको आवागमनमा सहज हुने बताउनुभयो ।

“हामीले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को अभियानलाई अघि बढाउँदै आइरहेका छौँ । पक्कै पनि सीमावर्ती भारतका पर्यटकलाई यो सुविधा थप भएसँगै हामीले अघि सारेको अभियानलाई सार्थकता पाउनेछ”, नगरप्रमुख दाहालले भन्नुभयो  । उहाँले छोटी भन्सार कार्यालयलाई व्यवस्थित गर्नका लागि आवश्यकपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । 
    
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले छोटी भन्सार कार्यालयका लागि आवश्यकपर्ने सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो । “भन्सार सेवालाई चुस्तदुरुस्त बनाउनका लागि नयाँ खालका प्रविधिको प्रयोग गरेर अघि बढ्न निर्देश गर्दछु”, उहाँले भन्नुभयो, “वडा कार्यालयबाट भन्सार छुट गरिदिनुप¥यो भन्ने खालका सिफारिस नगर्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गर्दछु ।” 
    
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्सार कार्यालयमा सेवा थप भएसँगै भारतीय पर्यटकको पर्सा तथा भरतपुर आसपासका क्षेत्रमा आवागमन वृद्धि हुने बताउनुभयो । “यसले पक्कै पनि यस क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्थायीरुपमा रहेको छोटी भन्सार कार्यालयको सेवालाई स्थायी गराएर अघि बढ्न जरुरी भइसकेको छ । यसलाई सम्बन्धित क्षेत्रले पनि ध्यान दिन जरुरी छ ।” 

गाउँपालिका अध्यक्ष श्रेष्ठले भन्सार कार्यालय नियमितरुपमा सञ्चालन हुँदा दैनिक उपभोग्य समान ल्याउन पनि सहज हुने बताउनुभयो । सो कार्यक्रमा चितवन र पर्सा आसपासका स्थानीय तहका जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।