राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले अब साग पसल खोल्ने

काठमाडौँ । भर्खरै सम्पन्न इलाम-२ को उपनिर्वाचनमा पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले अब साग पसल खोल्ने बताएका छन् ।

‘निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ? ’ उनले भनेका छन् ‘ मेरो जवाफ हुन्थ्यो, सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ । 

यस्तो छ मिलन लिम्बुको पूरा स्टाटस

साग पसल खोल्दै छु-

निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ?

मेरो जवाफ हुन्थ्यो-

सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु।प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले ‘साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो। जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन। जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ। त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो। त्यसमा भन्नु केही छैन।

इलाम र कृषि उत्पादन

इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो। तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन। उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ। यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ।

साग पसल खोल्दै छौँ

हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन्। किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ  यसका सम्भावित बजारबारे अध्ययन भएको छ। हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ।

साग बेचेर के हुन्छ?

हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

राजनीति पेसा होइन। राजनीतिलाई पेसा बनाउनु हुँदैन। म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु।

भन्दै आएको थिए-

म अकबरे उम्मेदवार हुँ

म अलैँची उम्मेदवार हुँ

म अम्लिसो उम्मेदवार हुँ

म ओलन उम्मेदवार हुँ

अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ।

र, आज पनि भन्छु- साग बेचेरै भए पनि जनताको सेवा गर्छु।