असी लाख लागतमा वडा कार्यालयको प्रशासनिक भवन निर्माण

कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा वडा कार्यालयको भवन निर्माण गरिएको छ । रु ८० लाखको लागतमा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । 

सो नवनिर्मित भवन भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त सभाहलसहित चार कोठा रहेको उहाँले बताउनुभयो । वडा कार्यालयको प्रशासनिक भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुने बताउँदै अध्यक्ष बोगटीले जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले पालिकावासीको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो । 

अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाले विनियोजन गरेको रु एक करोडमध्ये रु ८० लाख लागतमा भवन निर्माण गर्न पृथ्वी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

पहाडी भेगमा पर्ने सो गाउँपालिकाका वडा नं २ र ४ गरी दुई वडा कार्यालयका भवन निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । छ वडा रहेको चुरेका पालिकाको सुविधासम्पन्न प्रभासनिक भवनसँगै अन्य चार वडा कार्यालयका प्रशासनिक भवन यसअघि नै निर्माण भइसकेका छन् ।