रसुवामा सम्बन्धविच्छेद घटना बढे

गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा  रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् । 

जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ३६ र आव २०७९/८० मा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् । 

यसैबीच, रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन् ।  जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ ।