तरकारी खेतीबाट आम्दानी लिँदै मुक्तकमैया

 कञ्चनपुरको बेदकोट नगरपालिका-३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ । विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो । 

मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ । यहाँका स्थानीय कोही घर बनाउने मिस्त्री र कोही कोही मजदुरी गर्थे । तर अहिले धेरैजसो मुक्त कमैयाका परिवार  तरकारी खेतीमा सक्रिय छन् । 

कमैयामुक्तपछि जानकी चौधरीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । “कमैयामुक्तिपछि तरकारी खेतीको तालिम लियौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ”, उहाँले भन्नुभयो, “सिजनमा रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।” 

कमैयामुक्तिपछि सरकारले एक परिवारलाई पाँच कट्ठाको दरले जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिघा जमिन अधियाँमा लिएर धान÷गहुँ खेती गर्नुहुन्छ । नौ कट्ठा जमिनमा चाहीँ काँक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत तरकारी खेती गर्नुभएको छ । उहाँले च्याउ खेती पनि गर्नुभएको छ । 

४० वर्षीय मानबहादुर डगौँराले १० कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । तरकारी बेचेरै उहाँले घरखर्च चलाउँदै आउनुभएको छ । वार्षिक रु दुई देखि तीन लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

“अटो रिक्सामा राखेर तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ, सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ”, उहाँले भन्नुभयो, “थोरै सिँचाइको असहजता छ, नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।” कमैया बस्दा मानबहादुरले पढ्न पाउनुभएन । कमैयामुक्ति भएपछि लिएको तालिमले तरकारी खेतीमा लाग्न प्रेरणा मिलेको उहाँको भनाइ छ । तरकारी खेतीबाटै कमाएको पैसाले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्दै हुनुहुन्छ ।

आशापुरकै विक्रम डगौँरा पनि तरकारी खेती गर्नुहुन्छ । कमैयामुक्त भएपछि उहाँ तीन पटक वैदेशिक रोजगारीमा जानुभयो । मथनर, दुबई र साउदीमा मजदुरी गर्नुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किनुभएका विक्रम अहिले गाउँमै तरकारी खेती गरेर आम्दानी गरिरहनुभएको छ ।

“आठ÷नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरँे, अहिले राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “स्वदेशमै मेहनत गरे कमाइ हुने रहेछ ।”