प्रशासकीय अधिकृत जयसवाललाई भ्रष्टाचारका पाँच मुद्दामा सफाइ

१७ वैशाख, काठमाडौं विशेष अदालतले सोमबार भ्रष्टाचारका पाँच वटा मुद्दामा सफाइ दिएको छ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालसमेत प्रतिवादी रहेको ती मुद्दामा यस्तो फैसला आएको हो । 

जयसवाल यी पाँच वटै मुद्दामा प्रतिवादी थिए । विशेषले यी मुद्दा सँगसँगै राखी हेर्दै आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाभित्र भएका अनियमितताहरुका विषयमा छुट्टाछुट्टै अनुसन्धान गरी विभिन्न मितिमा ती मुद्दा दायर गरेको थियो । 

विशेषका अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको अभियोग दाबी नपुग्ने भन्दै विशेषले सबै प्रतिवादीहरुलाई सफाइ दिने फैसला गरेको हो । 

अख्तियारले जयसवालसमेतका नगरपालिकाका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी, ठेकेदारसमेतका व्यक्तिहरुलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्दा दायर गरेको थियो । ३ जेठ २०८० मा र २४ साउनमा प्रशासकीय अधिकृत जयसवालसमेतले गैरकानूनी लाभ लिइ भ्रष्टाचार गरेको दाबीसहित दुई मुद्दा दायर भएका थिए । 

यसैगरी २० असार २०८० मा झुठ्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै तीन मुद्दा दायर भएका थिए । यी सबैमा विशेषले सफाइ दिने फैसला गरेको हो । 

मधेश प्रदेश सरकारबाट प्राप्त बजेटमा अनियमितता भएको दाबी अख्तियारको थियो । प्रदेशले योजनाका लागि विनियोजन गरेको रकममा भ्रष्टाचार भएको दाबी भए पनि विशेषले सबैलाई सफाइ दिएको हो ।