घूस लिने इञ्जिनियर र लेखापाललाई कैद, सिडिइसमेत दुईलाई सफाइ

 काठमाडौं विशेष अदालतले घूस लिइ भ्रष्टाचार गरेको एक मुद्दामा दुई जनालाई सफाइ दिएको छ भने दुई जनामाथि कसूर कायम हुने फैसला गरेको छ । गत वर्ष ७ साउनमा दायर मुद्दामा यस्तो फैसला आएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ लिइसकेको अवस्थामा ग्रामीण सडक सञ्जाल सुधार आयोजना झापामा कार्यरत इञ्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई नियन्त्रणमा लिएको थियो । उनीहरुले मिलेमतोमा उक्त रकम लिएको बताएका थिए । 

उनीहरु दुवैले घूस रकम लिएर आयोजना कार्यान्वय इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिइ) हुतराज चौहान र इञ्जिनियर धर्मेन्द्र कुमार झालाईसमेत दिने भनी अख्तियारलाई बताएपछि चौहान र झालाई पनि प्रतिवादी बनाइएको थियो । तर उनीहरु दुवैले सफाइ पाएका छन् । 

सोमबार विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । ठेक्का सम्झौता अनुसारको निर्माण कार्यको अन्तिम बिल भुक्तानी वापत चार लाख रुपैयाँ घूस लिएको ठहर विशेषले गरेको छ । 

इजलासले शर्मा र पौडेललाई आठ–आठ महिना कैदका साथै जनही दुई लाख रुपैयाँ बिगोबराबर जरिवाना हुने फैसला गरेको छ ।